• २४ असार २०८१, सोमबार

झापा फुटबल क्लब गृह जिल्लामा सम्मानित

blog

‘सी’ डिभिजन च्याम्पियन खेलाडी र अफिसियललाई सम्मान गरिदै । तस्बिर : गोरखापत्र

बिर्तामोड समाचारदाता

बिर्तामोड, असार ३ गते ।  ‘सी’ डिभिजन च्याम्पियन बन्दै ‘बी’ डिभिननमा बढुवा भएको झापा फुटबल क्लबलाई गृह जिल्लामा सम्मान गरिएको छ । झापा गोल्डकप आयोजक समितिले झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई शुक्रबार नगद सहित सम्मान गरेको हो  ।

जेठ २० गते सम्पन्न ‘सी’ डिभिजन लिगमा झापा फुटबल क्लब च्याम्पियन बनेको थियो । खेलाडी तथा अफिसियलको हौसलाका लागि नगदसहित सम्मान गरिएको झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले बताउनुभयो । खेलाडी तथा अफिसियल ३० जनालाई जनही ११ हजार रुीपयाँ सहित सम्मान गरिएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले खेलाडी र अफिसियललाई सम्मान गर्नुभयो । कार्यक्रममा झापा ११ का पूर्वअध्यक्ष जलकुमार गुरुङ, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिमिल्सिना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीलगायतले झापाली माटो फुटबलको क्षेत्रमा उर्बर रहेको धारणा राख्नुभएको थियो ।