• १७ चैत २०८२, मङ्गलबार

‘जनताका समस्या समाधानको पहल गर्छु’

blog

जीवछ यादव 

लहान, चैत १७ गते  । सिराहा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा शिवशङ्कर यादव निर्वाचित हुनुभयो । उहाँ प्रतिनिधि सभा निर्वाचनमा दोस्रो पटक उम्मेदवार बन्नुभएको थियो । 

२०७९ सालको निर्वाचनमा हाम्रो नेपाली पार्टीबाट पहिलो पटक उम्मेदवार बनेको बेला उहाँले ६९९ मत ल्याएर चुनाव हार्नुभएको थियो । यादवले निरन्तर आफ्नो क्षेत्रका जनताको सुखदुःखमा साथ दिँदै आएको बताउनुभयो । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएको यादवलाई जनताले विगतमा गरेका सामाजिक कामकाजका कारण सहज स्वीकार गरी निर्वाचित गराएको उहाँको भनाइ छ । यस पटकको निर्वाचनमा यादवले ३९ हजार ५६१ मत प्राप्त गरी संसदीय यात्रा तय गर्नुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी संविधान सभाका सदस्यसमेत रहनुभएका नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई २६ हजार ७४७ मतको अन्तरले पराजित गर्नुभएको हो । कांग्रेसका उम्मेदवार यादवले १२ हजार ८१४ मत प्राप्त गर्नुभएको थियो । 

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका अगुवामध्ये एक प्रतिनिधि सभा सदस्य यादव १० वर्षसम्म निरन्तर काठमाडौँमा रही सामाजिक काम गर्नुभएको थियो । रत्न राज्यलक्ष्मी क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गर्नुभएको छ । काठमाडौँमा उखु किसानले गर्ने गरेको आन्दोलन, चेलीबेटीको न्यायका लागि गरिएको अभियान, कोभिडको महामारीमा सिलिन्डर तथा निःशुल्क खाना वितरण कार्यमा सहभागी हुने गर्नुभएको थियो । सामाजिक कार्य गरिरहेका सांसद यादवले पछि राजनीतिमा सक्रिय भएको बताउनुभयो । 

जेनजी आन्दोलनपछि पूर्वप्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वमा गठन भएको अन्तरिम सरकारको समयमा सिरहाका विभिन्न समस्या समाधानमा उहाँले अग्रसरता देखाउनुभएको थियो । तराई मधेशको जीवन रेखाका रूपमा रहेको हुलाकी सडकमा पर्ने कमला नदीको पुल  निर्माण, किसानले भोग्दै आइरहेको बिउबिजन तथा मलखादलगायत स्थानीय समस्या समाधानका लागि गरिएको पहलका कारण यति फराकिलो मतान्तरले चुनावमा जित निकाल्न सहज भएको उहाँले सुनाउनुभयो । उहाँले जनतासँग गरिएका वाचा पूरा गराउने काममा आफूले निरन्तर लागि रहने बताउनुभयो । 

गोरखापत्रसँगको कुराकानीमा उहाँले शिक्षा, स्वास्थ्यसहित जनताको अधारभूत आवश्यकताका विषयलाई प्राथमिकतामा राखेर कामकाज हुन्छ । उहाँले भन्नुभयो, “जेनजी सहिदको सपना साकार गर्न सरकारलाई घचघचाउने काम गरिरहने छौँ ।” उत्तरमा चुरे दक्षिणमा भारतीय सीमासँग फैलिएको सिरहा क्षेत्र नम्बर २ मा चुनावमा मतदातासँग भेट्ने व्रmममा यहाँका धेरै समस्या आफूले राम्ररी बुझेको बताउँदै उहाँले ती समस्या समाधानका लागि आफू प्रयासरत रहने बताउनुभयो । उहाँले थप्नुभयो, “सामुदायिक विद्यालयको सुधार, स्वास्थ्य क्षेत्रका समस्या समाधान र कृषकको बाहुल्यता रहेको यस क्षेत्रका किसानको उत्पादन बढाउनेदेखि लिएर बजार व्यवस्थापनमा स्थानीय सरकारसँग समन्वय गरी कामकाज गर्ने उहाँको भनाइ छ । 

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा वितरण गरेको वाचापत्रमा उल्लेख भएका बुँदाको कार्यान्वयन गराउन सदनमा निरन्तर आवाज उठाउनुका साथै स्थानीय समस्याको सूची बनाएर समाधानका लागि प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।