• १९ असार २०८२, बिहिबार

ब्राजिलमा वर्षाले ८३% सहरमा प्राकृतिक प्रकोप निम्त्यायो : रिपोर्ट

blog

रियो डि जेनेरियो, असार १८ गते । भूमण्डलीय तापक्रम (ग्लोबल वार्मिङ) वृद्धिले निम्त्याएको भारी वर्षाले सन् २०२० देखि सन् २०२३ सम्म ब्राजिलका १० मध्ये आठ सहरमा प्राकृतिक प्रकोप निम्त्याएको मङ्गलबार प्रकाशित एक अध्ययनले देखाएको छ । यो सन् १९९० को दशकको तुलनामा तीन गुणा बढी हो ।

बढ्दो तापक्रमले करिब सात प्रतिशत प्रति अतिरिक्त डिग्रीसहित वायुमण्डलमा जल वाष्पको मात्रा बढाउँछ र यसले ल्याटिन अमेरिकासहित केही क्षेत्रमा भारी वर्षाको जोखिम बढाउँछ । ब्राजिलमा तीव्र वर्षाले निम्त्याएको बाढी, नदीको बहाव र पहिरोको सङ्ख्या सन् २०२० मा दुई हजार तीन सय ३५ बाट तीन वर्षपछि सात हजार पाँच सय ३९ पुगेको छ । यसले ८३ प्रतिशत सहरलाई प्रभावित पारेको ब्राजिलियन एलायन्स फर ओसेनिक कल्चरको रिपोर्टले बताएको छ ।

निजी र सार्वजनिक संस्थाहरूले तयार पारेको यो अध्ययनमा ब्राजिलले अभूतपूर्व बाढीको सामना गरेको सन् २०२४ को तथ्याङ्क समावेश गरिएको छैन । रिपोर्टअनुसार प्रत्येक वर्ष औसत ३२ लाख मानिस प्रभावित भएका छन् । यो सन् १९९० को दशकमा करिब ४३ हजारको तुलनमा धेरै हो । “यो वृद्धिले वर्षासँग सम्बन्धित जलवायु प्रकोपहरूको बढ्दो आवृत्ति मात्र नभई, तिनीहरूको गम्भीरतालाई पनि प्रकाश पार्छ”, रिपोर्टका पछाडि रहेका अनुसन्धानकर्ता रोनाल्डो क्रिस्टोफोलेट्टीले एक विज्ञप्तिमा भन्नुभयो, “तथ्याङ्कले कमजोर समुदायहरूको सुरक्षा गर्ने र यी चरम घटनाहरूको प्रभावलाई कम गर्ने उद्देश्यले रोकथाम र अनुकुलन उपायहरू कार्यान्वयन गर्ने तत्काल आवश्यकतालाई जोड दिन्छ ।”

अध्ययनअनुसार बाढीले विशेष गरी कृषि क्षेत्रलाई असर गरेको छ, जसले आर्थिक नोक्सानको ४७ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०२४ को बाढीले सोही वर्षको ऐतिहासिक खडेरीसँग मिलेर खाद्यान्नको मूल्य बढाएको छ । यसले सरकारलाई मुद्रास्फीति नियन्त्रण गर्न उपायहरू लिन बाध्य बनाएको छ । रासस/एएफपी