• २० असार २०८१, बिहिबार

मन्त्री अथकको रुस भ्रमण उपलब्धिमूलक

blog

स्वदेश फर्किएपछि त्रिभुवन विमान स्थलमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ।

काठमाडौं, असार ३ गते । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) पाँचदिने रुस भ्रमण सकेर स्वदेश फर्कनुभएको छ । रुस सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा जानुभएका मन्त्री अथक शुक्रबार बिहान स्वदेश फर्कनुभएको हो । 

स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अथकले भ्रमण पूर्णरुपमा उपलब्धिमूलक भएको प्रतिक्रिया दिनुभएको छ । रुससँगको ६६ वर्ष लामो कूटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुनेमा उहाँले विश्वास ब्यक्त गर्नुभयो । भ्रमणका दौरान रुसका समकक्षीसँग दुईदेशीय हितको विषयमा विशेष छलफल भएको र रुसले नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको मन्त्री अथकले बताउनुभयो ।

रुसका खेलकुद मन्त्री आलेग भासिलिभिचको विशेष निमन्त्रणामा पहिलो पटक रुसको औपचारीक भ्रमण गर्नुभएका मन्त्री अथक र भासिलिभिच बीच नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुबै देशबिच मैत्रीपूर्ण तथा प्रतिस्पर्धात्मक खेलहरुको आदानप्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई खेल विज्ञान पढ्नका लागि छात्रवृत्ति सहयोग लगाएत विषयमा छलफल भएको थियो । छलफलपछि “रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना” मा दुई पक्षीय सहमति भएको उहाँले जनाउनुभएको छ । 

रुस भ्रमणका क्रममा मन्त्री अथकले गैरआवासीय नेपाली सङ्घ (एनआरएन) का पदाधिकारीसँग भेटघाट गर्नुभएको थियो । नेपालमा लगानीको वातावरण बन्दै गईरहेकाले देशको आर्थिक विकासका लागि सरकारको साझेदार बन्न रुसमा रहेका नेपालीहरुलाई आग्रह गरेको मन्त्री अथकले बताउनुभयो । मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँचदिने औपचारीक भ्रमणका लागि मन्त्री अथक गत सोमबार रुस प्रस्थान गर्नुभएको थियो ।