• १४ असार २०८२, शनिबार

लक्ष्मीदेवीलाई उपाधि

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १४ गते । विवाहित महिलाबिच भएको सौन्दर्य प्रतियोगितमा लक्ष्मी देवीले ‘दी मिसेस नेसनल ग्रान्ड’ को उपाधि हात पार्नुभएको छ ।  क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा आयोजित प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछाडि पार्दै लक्ष्मीले ‘मोस्ट फोटोजेनिक’ को अवार्ड पनि हात पार्नुभयो । रानी खरेलको कोरियोग्राफीमा सम्पन्न तेस्रो संस्करणको दी मिसेस प्रतियोगितामा जुनु कार्की ‘दी मिसेस नेसनल प्लाटिना’ र अनिता खड्का ‘दी मिसेस नेसनल क्लासिक’ बन्न सफल हुनुभयो । 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा भएको प्रतियोगिताको प्रमुख निर्णायकमा अभिनेत्री गौरी मल्ल रहनुभएको थियो ।  यसै गरी चलचित्र निर्देशक मनिष राउत, कलाकार दीपक कोइराला, एभरेस्ट फिल्म एकेडेमीका निर्देशक विशाल श्रेष्ठ र समाजसेवी नानु सिंह निर्णायकका रूपमा हुनुहुन्थ्यो । क्रिजोना मिडिया ग्रुप प्रालिका प्रबन्ध निर्देशक लभिन अन्सारीले विवाहित महिलालाई घरको चार घेराभित्रबाट बाहिर निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगिता गरिँदै आएको बताउनुभयो । प्रतियोगिताकी ब्रान्ड एम्बेसडर अनिता यादवले सबैको सहयोगमा कार्यक्रम तेस्रो संस्करणसम्म आइपुगेकोमा धन्यवाद दिनुभयो ।