काठमाडौं, असार ५ गते । नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मीले आज संघीय संसदअन्तर्गत गठित नेपाल–पाकिस्तान संसदीय मैत्री समूहसँग भेटवार्ता गर्नुभएको छ ।
उहाँले दुई देशबीचको ऐतिहासिक सम्बन्ध, वर्तमान सहकार्य र भविष्यका सम्भावनाबारे जानकारी गराउनु भयो।
अन्तरक्रियामा मैत्री समूहका सांसद, नेपालस्थित पाकिस्तान दूतावासका कूटनीतिक अधिकारी तथा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका प्रतिनिधिहरूसमेतको उपस्थिति थियो।
भेटका क्रममा राजदूत हाश्मीले पाकिस्तान र नेपालको दीर्घकालीन, आत्मीय र सौहार्दपूर्ण सम्बन्धप्रति प्रसन्नता व्यक्त गर्दै साझा सांस्कृतिक सम्पदा, आपसी सम्मान र क्षेत्रीय सन्निकटताको आधारमा सम्बन्ध थप विस्तार गर्न पाकिस्तान प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य, संस्कृति, जलवायु अनुकूलन, जनस्तरीय सम्बन्ध तथा क्षेत्रीय शान्तिका क्षेत्रहरूमा द्विपक्षीय सहकार्यको थप सम्भावनाबारे प्रकाश पार्नुभयो।
साथै, पाकिस्तानको वर्तमान आर्थिक स्थिति र क्षेत्रीय परिवेशबारे समेत जानकारी गराउँदै दक्षिण एशियामा शान्ति, स्थायित्व र समृद्धिको पक्षमा पाकिस्तानले राख्दै आएको दृष्टिकोण प्रस्तुत गर्नुभयो।
राजदूतले नेपाली सांसदद्वारा संसदीय कूटनीति र संस्थागत सम्बन्ध विस्तारमा देखाउनु भएको रुचिप्रति कृतज्ञता व्यक्त गर्दै त्यसले दुई देशबीचको विश्वास र समझदारी अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो।
मैत्री समूहका सांसदले नेपालप्रति पाकिस्तानले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँहरूले दुई देशबीच कुनै पनि अवरोधरहित, स्पष्ट र सकारात्मक सम्बन्ध रहेको उल्लेख गर्दै आर्थिक, सांस्कृतिक, युवा तथा महिला सशक्तीकरण, सीमान्तकृत समुदायका हित, प्राविधिक सहयोग तथा क्षमता विकासका क्षेत्रमा सहकार्य अझ विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
दुवै पक्षले दुई देश र जनस्तरबीचको मित्रता अझ प्रगाढ बनाउँदै लैजान खुला संवाद, संस्थागत समन्वय तथा बहुआयामिक सम्बन्धहरूलाई नियमित र प्रभावकारी बनाउँदै लैजाने साझा प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी नेपालस्थित पाकिस्तान दूतावासद्वारा प्रेस विज्ञप्तिमा उल्लेख छ ।