• १५ असार २०८१, शनिबार

माछा मार्ने बेला करेन्ट लागेर मृत्यु

blog

नवीन शिशिर 

बागलुङ, असार १ गते । बागलुङको बडिगाड गाउँपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । बडिगाड खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा बडिगाड गाउँपालिका–४ का ३२ वर्षीय छविलाल बलामीको मृत्यु भएको हो । 

बुधबार बिहान ३ बजेतिर बडिगाड खोलामा बिजुलीबाट करेन्ट लगाएर माछा मार्ने क्रममा बलामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीले जानकारी दिनुभयो । प्रहरीले करेन्ट लगाएर माछा मार्न संलग्न भएका अन्य पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बडिगाड गाउँपालिका ५ का ३५ वर्षीय होम बलाल, ५४ वर्षीय टेकबहादुर रास्ताकोटी, वडा २ का ३२ वर्षीय रमेश पुन, वडा २ कै २५ वर्षीय टीका पुन र गल्मीको मुसिकोट नगरपालिका ५ का ५० वर्षीय मानबहादुर बुढाथोकी पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले व्यक्तिसहित माछा मार्न प्रयोग भएका तारा र काठका सामग्रीहरु पनि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।