• ३ असार २०८२, मङ्गलबार

मदेसमा बालविवाह अन्त्यका लागि सामूहिक प्रयास आवश्यक

blog

जनकपुरधाममा भएको बालविवाह अन्त्यका लागि अन्तरपुस्ता संवाद कार्यक्रमका सहभागीहरू । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा  

ढल्केबर, असार २ गते । मधेस प्रदेशमा बालविवाह तथा दाइजाे प्रथा अन्त्यका लागि सरोकारवाला सबैको सामूहिक प्रयास आवश्यक भएकोमा वक्ताहरूले जोड दिनु भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा सोमबार जनकपुरधाम उपमहानगरपालिका सहितकाे आयोजना गरेको अन्तरपुस्ता संवाद कार्यक्रममा बोल्ने अधिकान्स वक्ताहरूले बालविवाह गर्नु कानुनी र सामाजिक रुपमा अपराध भए पनि जनचेतनाको अभावमा अझै पनि मधेस प्रदेशमा बालविवाह भइरहेको भन्दै विवाह संस्कार सँग सरोकार राख्ने सबै पक्षको सामूहिक प्रयास भएको खण्डमा बालविवाह तथा दाइजाे प्रथा अन्त्य हुन सक्ने बताएका थिए । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले बालविवाह रोक्ने विषयमा विवाह सँग सरोकार राख्ने पंडित , हजाम , वैण्डवाजा वजाउने व्यक्ति , वैवाहिक गीत गाउने गायिका लगायतको सक्रियता आवश्यक भएको बताउनु भयो । 

उहाँले बालविवाह गर्दा जीवनमा आइपर्ने समस्याहरूको बारेमा विद्यालयहरूमा पढ्ने बालबालिकाहरूलाई जानकारी गराउनु पर्ने भन्दै यसका लागि जनकपुरधाम नगर क्षेत्रमा नगरपालिकाले छुटै अभियान सञ्चालन गर्ने बताउनु भयो । उहाँले विगत भन्दा अहिले बालविवाहमा कमी आए पनि भागी विवाह गर्नेको सङ्ख्या बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै नगर प्रमुख साहले बालविवाहको साथसाथै भागी विवाहको बारेमा पनि छलफल र बहस चल्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा जनलोकपाल आयोग मधेस प्रदेशका उपसचिव एवं बालविवाह सम्बन्धी अनुसन्धानकर्ता  देव कुमारी खत्रीले बालविवाहको अवस्था बारेमा आफ्नो प्रस्तुति प्रस्तुत गर्दै मधेस प्रदेशमा २० वर्ष पुग्नु अघि नै विवाह गर्ने ४३.६ प्रतिशत रहेको जस मध्ये महिला ५९.४ प्रतिशत र पुरुष १५.८ प्रतिशत रहेको बताउनु भयो । उहाँले मधेस प्रदेशमा १८ वर्ष नपुगी विवाह गर्ने ३७.२ प्रतिशत रहेको भन्दै तराइ मदेसको २० वटा जिल्लामा बालविवाहको प्रतिशत ४२. २ प्रतिशत रहेको जानकारी दिनु भयो । 

उहाँले बालविवाह गर्ने  मधेस प्रदेशको जिल्लाहरू मध्ये सबै भन्दा बढी धनुषामा ४७.५ प्रतिशत र सबै भन्दा कम सप्तरीमा ३४.८ प्रतिशत  रहेको बताउनु भयो । कार्यक्रममा लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले समुदाय स्तरमा हुने गरेका बालविवाह विरुद्धका विभिन्न कार्यक्रमको प्रभावले मधेस प्रदेशमा विगत भन्दा अहिले आएर बालविवाहको अवस्थामा सुधार भएको बताउनु भयो ।

उहाँले अझै सुधारका लागि यस प्रकारको कार्यक्रमहरूको निरन्तरता हुनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा सहभागी भएका धर्मगुरु ,हजाम समुदाय ,होटेल सञ्चालक , बैण्डवाजाका साहु ,अभिभावक , सुरक्षाकर्मी सहितका सरोकारवालाहरूले बालविवाह र भागी विवाहको सामूहिक बहिस्कार गर्ने प्रतिबद्धता जनाउँदै बालविवाह विरुद्ध हुने गतिविधिहरूमा सहभागी हुने वाचा गरेका थिए ।