• १५ असार २०८१, शनिबार

जनप्रतिनिधिको सुविधा कटाएर

स्वास्थ्य उपचार कोष स्थापना

blog

पशुपतिनगर समाचारदाता 

पशुपतिनगर(इलाम), असार १ गते । इलाम नगरपालिकाले स्वास्थ्य उपचार कोष स्थापना गर्नेभएको छ । दीर्घरोगी तथा कडा रोग भएका बिरामीको उपचार सहयोगार्थ कोष स्थापना गर्नेभएको हो । कोष स्थापना गर्नका लागि इलाम नगरपालिकाका प्रमुखसहितका जनप्रतिनिधिले मासिक रूपमा रकम जम्मा गर्नेभएका छन् । 

कोषमा नगरप्रमुख केदार थापाले मासिक तीन हजार, उपप्रमुख विष्णु लिम्बूू (दाहाल)ले मासिक दुई हजार रुपियाँ र कार्यपालिका सदस्यबाट मासिक एक हजार रुपियाँ जम्मा गर्ने निर्णय भएको छ । नगरपालिकाको पहिलो बैठकबाट उक्त निर्णय पारितभएको नगरका प्रवक्ता नुतनदेव दुलालले जानकारी दिनुभएको छ । 

उक्त कोषमा नगरप्रमुख, उपप्रमुख र कार्यपालिका सदस्यले पाउने सेवा सुविधाबाट नै कटाएर कोषमा रकम जम्मा गर्ने निर्णय भएको नगरप्रमुख थापाले जानकारी दिनुभयो । उहाँले इलाम नगरपालिकामा दीर्घरोगी र कडा प्रकारका बिरामीको सङ्ख्या बढ्दै गएकाले उक्त निर्णय गरिएको थापाले भन्नुभयो, “कतिलाई आर्थिक अभाव भएकै कारण उपचार गर्न समस्या छ । त्यसैले सहयोगका लागि कोष स्थापना गर्ने निर्णय गरिएको हो ।” 

कोष खडा गरी प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको दस्तखतबाट खाता सञ्चालन गरिने नगरपालिकाका प्रवक्ता दुलालले जानकारी दिनुुभयो । 

उक्त बैठकले पाँचवटा विषयगत समिति निर्माण गरेको छ । इलाम नगरपालिका, विषयगत समिति कार्यसञ्चालन कार्यविधि २०७८ को दफा ३ (१) बमोजिम समितिको संयोजक र सदस्य चयन गरिएको बताइएको छ । कार्यपालिका बैठक इलाम नगरपालिकाको आधिकारिक फेसबुक पेज र इलाम चोक बजारमा राखिएको डिस्प्लेबाट समेत प्रत्यक्ष प्रशारण गरिएको थियो । नगरले अघिल्लो सरकारले लगाएको कर घटाउने निर्णय यस अघि नै गरिसकेको छ ।