• २ असार २०८२, सोमबार

अनुशासन भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ: राष्ट्रपति पौडेल

blog

चुरे संरक्षण दिवस २०८२ को अवसरमा सोमबार नवलपुरको कावासोतीमा आयोजित कार्यक्रममा सहभागी हुनुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिरः बोमलाल

बोमलाल गिरी

नवलपुर असार २ गते । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयनको अनुभवलाई ध्यान दिँदै यससँग सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्थाहरूमा सुधार गर्नु पर्ने बताउनु भएको छ । सङ्गठनात्मक संरचनामा सबलीकरण तथा थप सेवा विस्तार गरी चुरे संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ ।

चुरे संरक्षण दिवस २०८२ को अवसरमा सोमबार नवलपुरको कावासोतीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति गठनको उद्देश्य अनुरूपका उपलब्धि हासिल भए नभएको समीक्षा गरी यसतर्फ सम्बन्धित सबै पक्ष गम्भीर हुन जरुरी रहेको बताउनुभयो ।

उहाँले चुरे संरक्षणको यति ठुलो जिम्मेवारी पाएको संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै संस्थाको काम प्रभावकारी हुने भन्दै यसतर्फ पनि ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत गल्छी पहिरो तथा खहरे रोकथाम, तालतलैया तथा सिमसार व्यवस्थापन, पोखरी निर्माण, नदी उकास जग्गा संरक्षण तथा वृक्षारोपण, कृषि वन कार्यक्रम, संवेदनशील क्षेत्र संरक्षणलगायतमा केही काम भए पनि राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति जुन उद्देश्यअनुसार गठन भएको थियो त्यसअनुसार अझै उपलब्धि हासिल गर्न सकिएको छैन ।’

उहाँले चुरे क्षेत्रको प्राकृतिक स्राेतहरूको संरक्षण र सदुपयोग गरी चुरे क्षेत्रको वर्तमान अवस्थामा सुधार गर्ने, चुरे क्षेत्रमा भइरहेको वा हुनसक्ने सम्भावित क्षयीकरणलाई न्यूनीकरण गर्ने र स्थानीय जनताको जीवनस्तरमा सुधार गर्ने उद्देश्यका साथ चुरे पहाडको जलाधार क्षेत्रका १६४ नदी प्रणाली र तिनका जलाधार क्षेत्रलाई वातावरण संरक्षण क्षेत्र कायम गरी दिगो संरक्षण तथा व्यवस्थापन गर्न नेपाल सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको गठन गरेको स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो ३७ जिल्लामा फैलिएको चुरे क्षेत्र नेपालका करिब ६० प्रतिशत मानिसको जीवन पद्धतिसँग जोडिएको छ । जनसङ्ख्याको चाप, गरिबी, अवैज्ञानिक खेत प्रणाली, वन अतिक्रमण, नदीजन्य पदार्थको दोहनजस्ता मानवीय क्रियाकलापहरूको कारणले गर्दा यस क्षेत्रका प्राकृतिक स्राेतहरूको क्षयीकरण भइरहेको छ ।

राष्ट्रपति पौडेलले चुरे संरक्षणमा नेपाली सेनाको सहभागिता उपलब्धिमूलक रहँदै आएको उल्लेख गर्दै क्षतिग्रस्त क्षेत्रलाई वृक्षारोपण र संरक्षण गरेर हराभरा बनाउने र पानीको संरक्षणको लागि ठुला–ठुला पोखरी निर्माण गरेर समुदायलाई हस्तान्तरण गरी अझै व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो ।