कपिल ज्ञवाली
सिद्धार्थनगर, असार १ गते । यस वर्ष बेमौसममै दुधको उत्पादन वृद्धि भएको छ । दुध उत्पादनका हिसाबले वैशाख, जेठ, असार, साउन र भदौ महिनालाई बैमौसम मानिन्छ । लुम्बिनी वितरण आयोजनाका निमित्त प्रमुख कृष्णप्रसाद अर्यालले उत्पादन अनुसार बजार माग नहुँदा कन्भर्सन (दुधलाई पाउडर बनाउन) गर्न बाहिर पठाउनु परेको बताउनुभयो ।
यो समयमा दुधको उत्पादन कम हुने भए पनि यो वर्ष समयमै पानी पर्दा गाईभैँसीलाई हरियो घाँसपात खुवाउन पाइएको र व्यावसायिक उत्पादनसमेत बढेकाले दुधको उत्पादन बढी भएको हुन सक्ने अर्यालले बताउनुभयो ।
नेपाल दुग्ध विकास संस्थान लुम्बिनी वितरण आयोजनामा गत वैशाख महिनामा दैनिक सरदर सात हजार लिटर दुध सङ्कलन भएको छ भने चार हजार पाँच सय लिटर दुध स्थानीय बजारमा खपत भएको छ । दैनिक सरदर दुई हजार पाँच लिटर दुध कन्भर्सनका लागि हेटौँडा पठाउनु परेको छ ।
आयोजना प्रमुख अर्यालले भन्नुभयो, “अघिल्लो वर्षको वैशाखमा दैनिक करिब दुई हजार पाँच सय लिटर दुध सङ्कलन भएको थियो । स्थानीय बजार माग अनुसारको दुध पु¥याउनका लागि नेपाल दुग्ध विकास संस्थानको विराटनगर, बालाजु, हेटौँडा आयोजनाबाट ल्याउनु परेको थियो ।”
लुम्बिनी दुग्ध वितरण केन्द्रमातहतका क्षेत्रमा दैनिक करिब चार हजार पाँच सय लिटर दुधको माग छ । आयोजनाले खपतभन्दा बढी दुधका सहायक उत्पादन (घिउ, पनिर, मखन, दही, चिजलगायत) मा पनि जोड दिएको जनाएको छ ।
लुम्बिनी दुग्ध विकास आयोजनामा काठमाडौँ उपत्यकाबाहिर बुटवलमा स्वास्थ्यवर्धक ‘प्रोबायोटिक दही’ उत्पादन सुरु भएको छ । उहाँले गर्मी समयलाई लक्षित गरी तीन सय एमएलको मोही उत्पादन गरेकामा शुक्रबारदेखि एक लिटरको बोत्तलमा मोही उत्पादन सुरु गरिएको पनि जानकारी गराउनुभयो ।
लुम्बिनी दुग्ध वितरण आयोजनामातहत नवलपरासीपूर्वको प्रगतिनगर, नवलपरासीपश्चिमका सुनवल, बासा, रुपन्देहीका मणिग्राम, अमुवा, कपिलवस्तुको चन्द्रौटा र गुल्मीको बलेटक्सारमा चिस्यान केन्द्र रहेको छ । त्यस्तै रुपन्देहीसहित कपिलवस्तु, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, पाल्पा र गुल्मीबाट दुध सङ्कलन हुँदै आएको छ । उहाँले गुल्मीको रुरुसम्म रहेको डिडिसीको बजारलाई अहिले तम्घाससम्म विस्तार गरिएको र अर्घाखाँचीमा बजार विस्तारको तयारी भइरहेको जानकारी दिनुभयो ।
उहाँले दुधको उत्पादन बढी हुने सिजनमा (असोजदेखि चैतसम्म) दैनिक १५ हजार लिटर दुध सङ्कलन हुँदै आएको छ भने खपत पाँच हजार लिटर रहेको अर्यालले बताउनुभयो । यो सिजनमा खपत भएकोभन्दा बढी १० हजार लिटर दुधलाई कन्भर्सन गरी पाउडर तथा मखन उत्पादन गर्ने गरिएको छ । दुधलाई कन्भर्सन गरी उत्पादन गरिएको पाउडर डेढ वर्षसम्म र मखन एक वर्षसम्म निश्चित तापक्रममा राख्न सकिन्छ ।