जनार्जन खत्री
सर्लाही, असार १ गते । ठेकेदारको बदमासीका कारण सर्लाहीको फूलजोर खोलाको पुल एक महिनादेखि बन्द छ । लालबन्दी नगरपालिका–३, जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरको सीमास्थित फूलजोर खोलाको पुलमा दक्षिणतर्फको भाग अर्थात् रामपुरपट्टी पुल र सडकको भाग जोड्ने ठाउँमा ठुलो भ्वाङ पर्दा गएको वैशाख २३ गतेदेखि पुलबाट आवतजावत बन्द गरिएको थियो ।
सडक डिभिजन चन्द्रनिगाहपुरले पुललाई जोड्ने पहुँच सडक (एपरोच रोड) मर्मत गर्न भन्दै पुलमा ढुङ्गा थुपारेर राखेको एक महिना भन्दा बढी भइसक्दा पनि ठेकेदार सम्पर्कमा आएका छैनन् । पुलमा थुपारिएको ढुङ्गाको छेउबाट र भ्वाङ परेको ठाउँबाटै जोखिमपूर्ण ढङ्गले कतिपय मोटरसाइकल चालकले मोटरसाइकल वारपार गराउने गरेका छन्। पैदलयात्री पनि पुलमाथिबाटै हिँडिरहेका छन् ।
चार पाङ्ग्रे सवारी साधन भने खोलाको पानीमा हेलिएर वारपार गरिरहेका छन् । अब वर्षायाममा खोलामा बाढी आइरहने भएकाले आउजाउ नै ठप्प हुने अवस्था सिर्जना भएको स्थानीयको गुनासो छ ।
लालबन्दी बजारमा जुत्ता, चप्पलको पसल गर्ने ईश्वरपुर नगरपालिका–११, कर्मोहानका राजेश महतोको पुलको अवस्था अत्यन्त धराप हुँदा पनि मर्मतमा बेवास्ता गरिँदा छक्क परेको बताउनुभयो । उहाँले ढुङ्गा थुपारिएको र भ्वाङ परेकै ठाउँबाट लोड बोकेका साइकल तथा मोटरसाइकल जवरजस्ती वारपार गराउने काम भइरहेकाले गम्भीर प्रकृतिको दुर्घटनाको जोखिम रहेको जानकारी दिनुभयो ।
पप्पु शिवशङ्कर जेभीले तीन वर्षअघि नै निर्माण गरेको फूलजोर खोलाको यो पुल हस्तान्तरण भएको छैन् । पुलमा जब्दी र रामपुर दुवैतर्फबाट पहुँच सडक कालोपत्रे गर्ने जिम्मा गढिमाई रिया निर्माण सेवा रौतहटले पाएको छ ।
ईश्वरपुर नगरपालिका ८ का वडाध्यक्ष श्यामबहादुर थापाले ठेकेदारले आजभोली भन्दा भन्दै काम गर्न आलटाल गरिरहेको बताउनुभयो । वडाध्यक्ष थापाले पुलको मर्मत र छेउछाउका सडक कालोपत्रे गर्ने जिम्मेवारी अर्कै निकायको रहेको तर गाली भने जनप्रतिनिधिले खानुपरेको गुनासो गर्नुभयो ।
सडक डिभिजन चन्द्रनिगाहपुरले फूलजोर पुलमा पहुँच सडक बनाउन आलटाल गर्ने निर्माण कम्पनी गढिमाई रिया निर्माण सेवा रौतहटलाई कारबाही गर्ने तयारी गरेको छ । कार्यालयका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर अरुणकुमारलाल कर्णले अब एक हप्ताभित्र पुल सूचारु हुने गरी काम नगरे निर्माण व्यवसायीलाई कारबाही प्रक्रिया अघि बढाएर अर्को उपाय खोजिने बताउनुभएको छ ।
अब वर्षायाम सुरु भइसकेकाले तत्काल पुलमा पहुँच सडक बन्ने सम्भावना कम रहेको स्थानीयले बताएका छन् ।