• २ असार २०८२, सोमबार

बाढीले कटान गरेपछि बाँध मर्मत

blog

सर्लाहीको छपकैयामा बाँध कस्ने काम गर्दै नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली । तस्बिरः जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, असार १ गते । सर्लाहीको कौडेना गाउँपालिका–५, छपकैयामा आइतबार बिहान लखन्देही खोलामा पानीको बहाव बढेर बाँध कटान गरेको छ । 

पहाडी भेगमा बिहान भएको भारी वर्षापछि लखन्देही खोलामा बाढी आएको स्थानीयले बताएका छन् । बाढी बढेर कटान गरेको बाँध तत्कालका लागि नेपाली सेना र सशस्त्र प्रहरी भएर अस्थायी रूपमा मर्मतको काम गरेका हुन् । 

उक्त बाँध फुटेमा कौडेना गाउँपालिका–५, छपकैया र मलङ्गवा नगरपालिका–६, खुटौना गाउँ डुबानमा पर्ने जोखिम रहेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाको कालीध्वज गणका २५ जना र सशस्त्र प्रहरीको १० जना टोली मिलेर बाँधको रोकथाम गर्ने काम गरेको कालीध्वज गणका गणपति एवं प्रमुख सेनानी गोविन्द विष्टले जानकारी दिनुभयो । 

छपकैयामा बर्सेनि बाढी आएर कटान तथा डुबानको व्यापक समस्या हुनेगरेको छ । पहाडी भेगमा परेको पानीमै आएको बाढीमा बाँध कटान गर्न सुरु गरेकाले अब ठुलो पानी पर्नासाथ थप समस्या उत्पन्न हुने भन्दै स्थानीय त्रसित बनेका छन् । 

आइतबार बिहान पहाडी क्षेत्रमा परेको पानीले पानीको बहाव बढेको बागमती र लखन्देखी खोलामा दिउँसोबाट क्रमिक रूपमा पानीको सतह कम हुँदैगएको छ ।