• १२ साउन २०८१, शनिबार

आईसीसी विश्वकप लिग–२ : ओमानविरुद्ध नेपालको सानदार जित

blog

ओमानलाई हराएपछि खुशी मनाउँदै नेपाली टोली । तस्बिर : क्यान

काठमाडौं, असार १ गते । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपालले ओमानमाथि सानदार जित निकालेको छ । अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा मंगलबार राति भएको  खेलमा नेपालले ओमानलाई सात विकेटले हरायो ।

अमेरिका भ्रमणमा पहिलो जित निकालेसँगै नेपाल लिगको पाँचौं स्थानमा उक्लिएको छ । नेपालले सिरिजको पहिलो खेलमा ओमानसँग हारेको बदला समेत लिएको छ । सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । नेपाल र अमेरिकाबीचको दोस्रो खेल भने टाई भएको थियो ।


ओमानले दिएको एक सय ६४ रनको विजय लक्ष्य नेपालले ३३.१ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालको जितमा आसिफ शेख र कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेल्नुभयो । आसिफले ६२ र कुशलले ५६ रन बनाउनुभयो । दुवैको यो एकदीवसीय करिरको तेस्रो अर्धशतक हो । आसिफले लगातार दोस्रो अर्धशतक प्रहार गर्नुभएको हो ।

पहिलो विकेटका लागि आसिफ र कुशलले २३.५ ओभरमा एक सय १४ रनको शतकीय साझेदारी समेत गर्नुभएको छ । यो एकदीवसीयमा नेपालका लागि ओपनरबाट पहिलो शतकीय साझेदारी पनि हो । यस्तै रोहित पौडेलले अविजित २६ र देव खनालले १० रन बनाउनुभयो । दिपेन्द्र सिंह ऐरीले अविजित ६ रन जोड्नुभयो । बलिङमा ओमानका फैज बटले दुई तथा खवर अलीले एक विकेट लिनुभयो । 


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६.५ ओभरमा सवै विकेटको क्षतिमा एक सय ६३ रन बनाएको थियो। ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ५२ रन बनाउनुभयो । सन्दीप गौडले ४७, जतिन्दर सिंहले २३  र नसिम खुसीले १० रन जोड्नु भयो । 


ओमानलाई सस्तैमा समेट्न नेपालका करण केसीले पाँच विकेट लिनुभयो । कप्तान सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट झार्नुभयो । जितसँगै पाँचौं स्थानमा उक्लिएको नेपालले १५ खेलबाट १५ नै अंक बनाएको छ । लिगमा सबै ३६ खेल सकेको ओमान ४४ अंक सहित शीर्षस्थानमा यथावत छ ।


सिरिजको अन्तिम खेलमा नेपालले आजै (बुधबार) राति अमेरिकाविरुद्ध खेल्नेछ । ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी आईसीसी विश्वकप लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।