• १ असार २०८२, आइतबार

गर्मी छल्न भेडेटार

blog

धनकुटाकोे सिमसुवास्थित नमस्ते झरना ।

सन्तोष सुवेदी

पाख्रीबास, जेठ ३१ गते । केही दिन अत्यधिक गर्मी बढ्दै गएपछि पूर्वी तराई जिल्लाका क्षेत्रको जनजीवन प्रभावित बनेको छ । गर्मी बढेपछि मानिस घरबाहिर कम निस्किन थालेका छन् ।  गर्मी बढेसँगै धनकुटाको भेडेटार र नमस्ते झरनामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । विषेश गरी गर्मी छल्न तराईबाट पहाडी क्षेत्रतर्फ घुम्न जानेको सङ्ख्या बढ्न थालेको छ । 

तराईलगायत अन्य ठाउँको गर्मीको असर धेरै परेपछि धनकुटाको भेडेटार नाम्जे र नमस्ते झरनामा पर्यटकको सङ्ख्याको चाप ह्वात्तै बढेको हो । 

यस क्षेत्रमा दैनिक करिब एक हजारभन्दा बढी पर्यटक आउने गरेका स्थानीय व्यवसायीले बताएका छन् । प्रायः जसो नयाँ वर्ष र छुट्टी भएको समय मात्र यहाँका पर्यटकीय क्षेत्रमा देखिने पर्यटक पछिल्ला दिनमा गर्मी बढेसँगै पर्यटकको बाक्लो उपस्थिति हुन थालेको छ । पहाडी भूगोल भएकाले बादल लागिराख्ने भएकाले चिसो महसुस गर्न यहाँ पर्यटक आउने गरेका छन् । त्यसैले यहाँको पहाडी क्षेत्रमा गर्मीयाममा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका होटेल एसोसिएसनका अध्यक्ष तुमराज लिम्बूले बताउनुभयो ।

चिसो मौसम मात्र नभई भेडेटार र नाम्जेबाट मनोरम दृश्यावलोकन गर्न र नमस्ते झरनामा पर्यटक रमाउने गरेका छन् । यी ठाउँमा पूर्वी तराईका साथै भारतको विभिन्न ठाउँबाट पर्यटक आउने गरेका छन् । केही दिन अगाडि न्यून मात्रामा पर्यटक आउने गरेकामा अहिले तराईमा गर्मी बढेसँगै दैनिक हजारौँ पर्यटक आउने गरेका नमस्ते झरना संरक्षण समितिका पूर्वअध्यक्ष तथा होटेल व्यवसाय दिलीप लिम्बूले बताउनुभयो । 

लिम्बूका अनुसार कोरोनाका कारण होटेल व्यवसाय दुई वर्ष सुनसान जस्तै भएको थियो तर अहिले यस क्षेत्रका होटेल व्यवसायमा चहलपहल बढेको लिम्बूले बताउनुभयो । जसले गर्दा पर्यटकीय स्थलमा रहेका होटेल व्यवसाय आर्थिक रूपले सवल बन्दै गएका पाइन्छ ।