• १९ असोज २०८१, शनिबार

बलात्कारको आरोपमा प्रधानाध्यापकसहित चारजना पक्राउ

blog

शेरबहादुर राई

ओखलढुङ्गा, जेठ ३१ गते । ओखलढुङ्गामा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । सिद्धिचरण नगरपालिका–३ को नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक ४० वर्षीय पुर्णप्रसाद फुयालसहित चारजनालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको हो । 

सोमबार बालिकाका आफन्तले प्रहरीमा दिएको जाहेरीको आधारमा सिद्धिचरण नगरपालिका–३ का ७६ वर्षीय फडिन्द्रप्रसाद दाहाल, ३२ वर्षीय डम्बर भुजेल र ३१ वर्षीय केवल भुजेललाई पक्राउ गरिएको ओखलढुङ्गाका प्रहरी निरीक्षक केशव अधिकरीले बताउनुभयो । बालिकालाई डर, धम्की देखाई अभियुक्तहरुले फरक फरक मितिमा फरक फरक स्थानमा जबरजस्ती करण गरेको जाहेरी परेको प्रहरी निरीक्षक अधिकरीको भनाइ छ । 

पक्राउ परेका चारजनाविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । बालिकाको स्वास्थ्य परीक्षण भइसकेकाले त्यसको प्रतिवेदन आएपछि अनुसन्धानमा थप अघि बढ्ने प्रहरीको भनाइ छ ।