• १ जेठ २०८१, मङ्गलबार

आईसीसी विश्वकप लिग–२ : नेपाल पहिलो जितको खोजीमा

blog

फाइल तस्बिर ।

काठमाडौं, जेठ ३१ गते । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा आज (मङ्गलबार) नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा राति ९:१५ बजे सुरु हुने खेलमा नेपाल पहिलो जित निकाल्ने दाउमा छ । ओमानलाई हराउन नेपाललाई ब्याटिङमा उल्लेख्य सुधार गर्न आवश्यक देखिन्छ । 

यता ओमान पनि सिरिजकै आफ्नो अन्तिम तथा ३६औं खेलमा सुखद नतिजा निकाल्न चाहन्छ । ओमान लिग–२ मा सबै खेल खेल्ने पहिलो टोली बन्नेछ । जारी सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । नेपाल र अमेरिकाबीचको दोस्रो खेल भने टाई भएको थियो ।

ओमान अमेरिकासँगको पहिलो खेलमा एक सय १४ रनले पराजित भएको थियो । दोस्रो खेलमा भने ओमानले अमेरिकालाई १३ रनले हराएको थियो । नेपाल र ओमानबीच अहिलेसम्म पाँच वटा एकदिवसीय खेल भएका छन् । जसमा ओमानले चार र नेपालले एक खेल जितेको छ । लिगमा १४ खेलबाट १३ अङ्क बनाएको नेपाल छैटौं स्थानमा छ । ३५ खेलबाट ४४ अङ्क बनाएको ओमान शीर्षस्थानमा छ ।

सिरिजको अन्तिम खेल नेपालले बुधबार अमेरिकाविरुद्ध खेल्नेछ । ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी आईसीसी विश्वकप लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् । 

नेपाली टोली 

सन्दीप लामिछाने (कप्तान), विनोद भण्डारी (विकेट किपर), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सुनिल धमला, सुवास खकुरेल, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।