• २६ जेठ २०८२, सोमबार

गर्मीले मर्न थाले चरा

blog

काठमाडौँ, जेठ २६ गते । शनिबार दिउँसो काठमाडौँको थानकोटमा चर्को घाममा आकाशमा उडिरहेको काग गर्मीले भुइँमा खस्यो । स्थानीयले पानी ल्याएर छर्कन नभ्याउँदै गर्मीले उसको प्राण लियो । केही दिनअघि काठमाडौँकै सङ्कटा मन्दिरपरिसरमा पनि परेवा उड्दाउड्दै प्यासले भुइँमा बजारिएर मरेका थिए । 

केही दिनयता गर्मी अचाक्ली बढेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आइतबार दिउँसो काठमाडौँको तापक्रम ३१ डिग्री सेल्सियस छ । यो २४ घण्टाको औसत हो, मध्यदिनको तापक्रम योभन्दा बढी हुन्छ । केही दिन वर्षा नहुँदा मानिस मात्र होइन, चराचुरुङ्गीसहित अन्य प्राणी मध्य दिनको चर्को घाममा गर्मीले आलसतालस पर्ने गरेको नेपाल पन्छीविद् सङ्घका कार्यकारी निर्देशक लक्ष्मण पौड्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “वनमा रम्ने चरा रुखको छहारी र सिमसारको पानीले गर्मी मेट्छन् तर सहरका चरा तापक्रम बढ्दा गर्मीकै कारण बढी मर्ने गरेका पाइएको छ ।” उहाँले काग जस्तै मानिसको बस्तीसँग नजिक रहने परेवा, भँगेरा, सारौँ, चिबे जस्ता चरामा गर्मीको असर बढी पर्ने गरेको बताउनुभयो। 

पौड्यालले भन्नुभयो, “अझ साना भँगेरा तातो सडक, घरका छत र आँगनमा चर्दाचर्दै मर्ने गरेको पाइएको छ ।” उहाँका अनुसार अत्यधिक गर्मीका बेला घरका छतमा चरालाई खान र नुहाउन पुग्ने तर नडुब्ने गरी बाटा, भाँडामा पानी राखिदिने गर्नु पर्छ । 

वरिष्ठ चराविद् डा. हेमसागर बरालका अनुसार चरा भनेका मानिसका नजिकका साथी पनि हुन् । यिनले फूल, बोटबिरुवामा पोलिनेसन गराउने, घरआसपासका किरा र फोहोर खाएर वातावरण सफा राख्ने काममा मानिसलाई सघाइरहेका हुन्छन् । उहाँले घना बस्तीमा सहअस्तित्व ख्याल गरेर उनीहरूका लागि ठाउँ ठाउँमा चारा र पानीको व्यवस्था गरिनुपर्ने बताउनुभयो ।