• २४ जेठ २०८२, शनिबार

पुल चर्केपछि रोकियो सञ्चालन

blog

नवलपुर, जेठ २४ गते । भाँचिएको भन्दा अर्को ठाउँमा पनि पुल चर्केको भेटिएपछि पूर्वपश्चिम राजमार्गको चोरमारास्थित गिरुबारीखोलाको पुल सञ्चालनमा आउन ढिलाइ हुने भएको छ । यसअघि सडक विभागले मर्मतको काम सकेर बुधबार साँझदेखि पुल सञ्चालनमा आउने बताएको थियो । अर्को ठाउँमा समेत पुल चर्किएको फेला परेपछि पुल सञ्चालनमा आउन नसकेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । 

सडक डिभिजन चितवनका इन्जिनियर आशिष नेपालका अनुसार पुलको भाँचिएको भागलाई तलबाट टेको लगाई उठाएर पहिलेको अवस्थामा आएपछि भाँचिएका फलामका पाता फेरिएको थियो । पाता फेरेर सञ्चालनमा ल्याउनुअघि पुलको जाँच गर्ने क्रममा अर्को ठाउँमा पनि चर्किएको फेला परेपछि पुल सञ्चालन गर्न नसकिएको नेपालले बताउनुभयो । नेपालले भन्नुभयो, “अर्को ठाउँमा समेत पुलको क्रयाक भेटिएको छ, चर्किएको भागमा फलामका पाता फेरेपछि मात्रै पुल सञ्चालनमा आउँछ ।” पुलको भाँचिएको भन्दा पश्चिमतर्फ फेला परेको चर्किएको भागलाई मर्मत गरेर पुल सञ्चालनमा ल्याउन थप एक हप्ता लाग्ने कार्यालयले जनाएको छ ।

गत मङ्सिर २९ गते पुलमा बढी तौल बोकेको १८ चक्के टे«लर होङ्सी सिमेन्ट कम्पनीबाट कच्चा पदार्थ बोकी वीरगन्जतर्फ जाँदै गर्दा पुल भाँचिएको थियो । पुललाई मर्मत गरेर सञ्चालन गर्न सडक विभागले जलप कन्स्ट्रक्सनलाई जिम्मा दिएको छ । 

पुल भाँचिएपछि दुईतिरबाट डाइभर्सन गरी सवारी सञ्चालन भइरहेको छ । अहिले हल्का वर्षा हुने गरेको भए पनि ठुलो बाढी आउने गरी पानी नपरेकाले डाइभर्सनमार्फत सहजै गाडी आवतजावत हुने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढी आउने गरी पानी पर्नेबित्तिकै सडक पूर्ण रूपमा अवरुद्ध हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । 

२१६ मिटर लामो यो फलामे पुल ५२ वर्षअघि निर्माण गरिएको हो । झन्डै तीन वर्षअघि पनि सोही पुलमा प्वाल परेर यातायात अवरुद्ध भएको थियो । गत पुस २६ गते भारतीय हेभी ट्रक पास हुने क्रममा दुम्कीबासस्थित विनयीखोलाको पुल पनि भाँचिएको छ । जसका कारण यहाँ पनि डाइभर्सनमार्फत सवारीसाधन आवतजावत गरिरहेका छन् । 

 

Author
बोमलाल गिरी

गिरी गोरखापत्रका लागि नवलपुर समाचारदाता हुनुहुन्छ ।