• १३ असार २०८१, बिहिबार

रकम अभावले औद्योगिक ग्राम निर्माण सुस्त

blog

तानसेनको कुनसरेमा निर्माणाधीन औद्योगिक ग्राम । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, जेठ ३० गते । जिल्लाको दुई नगरपालिकाले तयार गरेको महत्वाकांक्षी औद्योगिक ग्रामको गुरुयोजना रकम अभावले कार्यान्वयनमा सुस्तता आएको छ । तानसेन र रामपुर नगरपालिकाले गतवर्षदेखि गुरुयोजना निर्माण गरी औद्योगिक ग्रामका लागि आवश्यक पूर्वाधार निर्माण सुरु गरे पनि गुरुयोजना कार्यान्वयन गर्न रकम अभाव भएको छ ।  

तानसेन नगरपालिकाले औद्योगिक ग्रामको गुरुयोजना कार्यान्वयनमा ४५ करोड रुपियाँ खर्च लाग्ने जनाएको छ । यद्यपि तानसेन नगरपालिकालाई हालसम्म ९२ लाख रुपियाँ मात्र रकम मात्र प्राप्त भएको छ । औद्योगिक ग्रामका लागि तयार भएको गुरुयोजना पूरा गर्न बाँकी रकम जुटाउन नगरपालिकालाई समस्या भएको छ ।  

सङ्घीय सरकारबाट दुई वर्षअघि प्राप्त भएको ९२ लाख रुपियाँ रकमबाट तानसेनको वडा ७, कुनसरेमा औद्योगिक ग्राम निर्माणको प्रारम्भिक काम सुरु भएको छ । हाल जग्गा घेर्ने, तार लगाउने काम भइरहेको तानसेन नगरपालिकाका प्रमुख इन्जिनियर रामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

गुरुयोजनाले निर्दिष्ट गरेका बाँकी कम्पोनेन्ट निर्माण गर्न रकम अभाव भएको श्रेष्ठले बताउनुभयो । गुरुयोजनाअनुसार औद्योगिक ग्रामभित्र २२ प्रकारका स्टल रहनेछन् । घरेलु तथा साना उद्योगहरू समेत ग्रामभित्रै सञ्चालनमा ल्याइने बताइएको छ । यस्तै, त्यहाँ आवश्यक विद्युत्, खानेपानी, शौचालय, सडक, प्रशासनिक भवनको निर्माण गर्न रकम अभाव भएको बताइएको छ । 

रामपुर नगरपालिकाले गत वर्ष औद्योगिक ग्राम निर्माणको पहिलो चरणको काम सकेको जनाएको छ । रामपुर नगरपालिकाले २२ करोड रुपियाँ खर्च गर्नेगरी गुरुयोजना बनाएको छ । गुरुयोजनाअनुसार औद्योगिक ग्राम बनाउन गत वर्ष ९२ लाख र यो वर्ष ८० लाख रकम सङ्घीय सरकारबाट प्राप्त भएको रामपुर नगरपालिकाले जनाएको छ । 

बहुवर्षीय योजना भएकाले गुरुयोजनाअनुसार काम गर्न नगरपालिका र प्रदेश र सङ्घीय सरकारबाट सहयोग आउने रामपुर नगरपालिकाका सूचना अधिकारी रामहरी पाण्डेयले जानकारी दिनुभयो । हालसम्म रामपुरमा ७७ लाख खर्च गरेर रामपुरको वडा ७ को विरेनटारमा ४२ रोपनी जग्गालाई घेरबार गर्ने, जग्गा व्यवस्थापन गर्ने तथा नदी कटानबाट जोगाउन पर्खाल लगाउने काम भएको छ । गुरुयोजनाअनुसार काम केही वर्षभित्रै सम्पन्न गर्न भने रकम अभाव भएको नगरपालिकाको भनाई छ ।