• १८ असार २०८१, मङ्गलबार

जिसस सुनसरी प्रमुखमा मेहता विजयी

blog

जयकृष्ण यादव

इनरुवा, जेठ ३० गते । जिल्ला समन्वय समिति (जिसस) सुनसरीको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदबार राजन मेहता निर्वाचित हुनुभएको छ । जिसस निर्वाचनमा गठबन्धनका तर्फबाट प्रमुख मेहतासहित प्यानल विजयी भएको छ । 

सोमबार जिसस सुनसरीमा निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणामअनुसार गठबन्धमा प्रमुखसहित प्यानलमा १४ मत र विपक्षमा १० मत खसेको छ । कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीसहितको प्यानलका उम्मेदवारमा जिसस प्रमुखमा राजन मेहता, उपप्रमुखमा कमला दाहाल, महिला सदस्यमा शेषकुमारी घिमिरे, लालकुमारी चौधरी, कलावति माझी, दलित सदस्यमा कुमारी विश्वकर्मा, खुल्ला सदस्यमा टंकप्रसाद गुरुङ्ग, सलिम मियाँ र भूपेन्द्र उराँव १४ मत सहित विजयी हुनुभयो । 

यसैगरी १० मत प्राप्तगरी नेकपा (एमाले) का प्रमुखका उम्मेदबार जगनारायण मेहता,  उपप्रमुखमा सबिना सिग्देल र दलित महिला सदस्यमा सिर्जना विश्वकर्मा जराजित हुनुभयो । जिसस प्रमुख र उपप्रमुख तथा दलित महिला सदस्यमा दुई जनाको उम्मेदवारी दर्ता भएकाले जिल्लाका १२ वटै स्थानीय तहका २४ जना प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षले मतदान गर्नुभएको थियो ।

जिल्लामा गठबन्धनसँग स्पष्ट बहुमत रहेकोमा कांग्रेसको १३, माओवादी केन्द्रको एक तथा समाजवादी पार्टीको एक गरी १५ मत हुनु पर्नेमा एक मत क्रस भएको छ । एमालेसँग आठ र स्वतन्त्रको एक मतसहित ९ मत हुनुपर्नेमा विपक्षमा १० मत परेको छ ।