• १८ असार २०८१, मङ्गलबार

सर्लाहीको चुरे भेगमा यातायात ठप्प

blog

चुरेको दुर्गम क्षेत्रमा पर्ने नारायण खोलामा ट्याक्टरबाट खाद्यान्न ढुवानी गरिँदै । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, जेठ ३० गते । बर्खायाम सुरु भएसँगै सर्लाहीको उत्तरी चुरे भेगमा यातायात ठप्प भएका छन् । बाढीले खोलाको बाटो बिगारेपछि जिल्लाको चुरे भेगस्थित विकट क्षेत्रमा पर्ने नारायण खोला, शीर कालिञ्जोर, पिपलदमार लगायतका क्षेत्रमा यातायातका साधन अवरुद्ध भएका हुन् । त्यस भेगका स्थानीयहरु हिजोआज किनमेलका लागि बजारसम्म र औषधोपचारका लागि अस्पतालसम्म जान घण्टौं पैदल हिँड्न बाध्य छन् । 

सडक सञ्जालमा नजोडिएको चुरे भेगका विकट बस्तीमा हिउँदयाममा खोलाको बगरबाटै भएपनि बसहरु चल्नेगरेका छन् । खोलामा बाढी आउन थालेपछि भने लालबन्दी बजारबाट चुरे भेगमा जाने बसहरु बन्द हुन्छन् ।  

बाढी नआएको समयमा स्थानीयले ट्याक्टरमा निकै मुस्किलले दैनिक उपभोग्य वस्तु ढुवानी गर्नेगरेका छन् । लालबन्दी नगरपालिका –१४, नारायण खोलाका रोशन दोङले नारायण खोला क्षेत्रमा अब बर्खायामभरी बस चल्न सक्ने अवस्था नरहेको जानकारी दिनुभयो ।  

नारायण खोलामा हिउँदको ६ महिना मात्रै लखन्देही र डाईनी खोलाको बगर भएर बस चल्नेगरेका छन् । “बर्खायामभरी अब यहाँ बस चल्दैनन्, बाढी नआएकाबेला ट्याक्टर भने चल्छ,” दोङले भन्नुभयो, “केही स्थानीय त्यही ट्याक्टरमा बजार आउनेजाने गर्छन् नत्र भने  अधिकांश लालबन्दी बजारसम्म पुग्न पत्थरकोटसम्म चार–पाँच घण्टासम्म पैदल जान्छन् । 

नारायण खोला पुग्न लालबन्दी बजारदेखि पत्थरकोटसम्म सडक पुगेको छ । जिल्लाको ईश्वरपुर नगरपालिका र लालबन्दी नगरपालिकाको चुरे भेगमा बर्खायाममा बर्सेनी यस्तो समस्या हुन्छ । 

गाडी नचल्दा बिरामी परेकाबेला असाध्य समस्या हुनेगरेको छ । “गाउँमा कोही बिरामी परे वा सुत्केरी भए झोलुङ्गोमा बोकेर स्वास्थ्य चौकी पु¥याउनुपर्छ”, ईश्वरपुर नगरपालिका–१२, पीपलदमारका बलिराम वाईबाले भन्नुभयो, “हाम्रो ठाउँबाट बर्खाभरी गाडी चढ्न घारिबथानसम्म पुग्न दुई घण्टा बढी पैदल हिँड्नुपर्छ । यो बेला कोही बिरामी परेमा साह्रै समस्या हुन्छ ।”

जिल्लाको चुरे भेगका बस्तीसम्म पुग्न खोलाको बगरबाहेक अरु विकल्प छैन् । ठूला चूचूरा भएर जानुपर्ने चुरेका बस्तीमा छरिएर रहेका घरहरु छन् । ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोरका वडाध्यक्ष देवीबहादुर खत्रीले बर्खायामभरी आफ्नो वडाको चुरे भेगमा पर्ने पीपलदमार, भित्रीखोला, गुइडुङ, लामिदमार, सिस्नेखर्क लगायत गाउँका वासिन्दालाई समस्या हुनेगरेको बताउनुभयो । “चुरेका अति नै विकट यी वस्तीमा वडाले जति बजेट खर्च गरेपनि वर्षौसम्म सडक पु¥याउन सक्ने अवस्था छैन्” वडाध्यक्ष खत्रीले भन्नुभयो, “ती क्षेत्रका बस्ती स्थान्तरण गर्नुको विकल्प छैन् ।”

वडाध्यक्ष खत्रीले चुरेका अधिकांश घरहरु छरिएर रहेकाले त्यहाँ करोडौँ रकम खर्चिदा पनि सडक पु¥याउन सक्ने अवस्था नरहेको बताउनुभयो ।