• १८ असार २०८१, मङ्गलबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा दम्पतिसहित चारको मृत्यु

blog

शिवशंङ्कर मिश्र 

बारा, जेठ ३० गते । बारा जिल्लामा छुट्टाछ्ट्टै सवारी दुर्घटनामा एक दम्पतिसहित ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारागढी गाउँपालिका –१ भवानीपुर टोल बस्ने २६ वर्षीय देवेन्द्र चौधरी र उहाँका २२ वर्षीया श्रीमति नन्दा चौधरी तथा सुर्वण गाउँपालिका–७ सनफुलवा टोलका ३५ वर्षीय बिरुलाल यादव र पछाडी सवार भारत मोतिहारी जिल्ला पूर्वी चम्पारण समरपुर गाउँपञ्चायत –२ निवासी ३० वर्षीय मेवाचन्दराय यादव रहेको बारा प्रहरीले जनाएको छ ।

दम्पति चौधरी चढेको बागमती प्र. ०३–००४ प.१५१७ नम्बरको मोटरसाइकलाई जितपुर–सिमरा उपमहानगरपालिका –२२ पूर्व–पश्चिम लोकमार्ग सडक खण्डको २ नम्बर पुल नजिकै हेटौडाबाट बिरगञ्जतर्फ आउँदैगरेको ना.७ ख.३९४८ नम्बरको लहरी ट्रकले सोमबार बिहान ९ बजे ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पति चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

त्यसैगरी बरियारपुरबाट लंङ्गडाचोक जाँदैगरेको प्र.०२–०३–००४प. ७९३४ नम्बरको मोटरसाइकल गएराती साढे १० बजे आफै अनियन्त्रित भइ दुर्घटना हुँदा महागढीमाइ नगरपालिका –८ थलही पुलबाट २५ फिट तल खस्दा बिरुलाल र मेवाचन्द्र गम्भीर घाईते हुनुभएको थियो । घाइते दुबैको उपचारको क्रममा प्रदेशिक अस्पताल कलैयामा राती ११ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । 

मृतक यादवको कलैया र चौधरी दम्पतिको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा शव परीक्षणगरी परिवारको जिम्मा लगाइएको तथा दुबै घटनाका सवारी प्रहरी नियन्त्रणमा राखेर अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जनाएको छ ।