• १८ असार २०८१, मङ्गलबार

नौ दिनदेखि लुक्लामा उडान ठप्प

blog

सोलुखुम्बु समाचारदाता

सोलुखुम्बु, जेठ ३०  गते ।सोलुखुम्बुको अति व्यस्त पर्यटकीय क्षेत्रमा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा नौ दिनदेखि लगातार मौसम खराबीका कारण उडान अवरुद्ध हुँदा पर्यटक तथा अन्य यात्रु अलपत्र परेका छन् । मौसममा सुधार नभएपछि लगातार उडान हुन नसकेको हो ।

खुम्बुक्षेत्रको एक मात्र विमानस्थल लुक्लामा सबै उडान अवरुद्ध भएपछि खुम्बु भ्रमण गरी लुक्लाबाट फर्कने तथा काठमाडौँबाट आउने दुवैतिरका यात्रु अलपत्र बनेका छन् । लुक्लामा मौसममा सुधार आउला र काठमाडौँ जान पाइएला भनेर विमान कुरेर यात्रु बसिरहेको बताइएको छ । 

आइतबार तारा एयरका पाँचवटा उडान रहेकोमा मौसम प्रतिकूलताका कारण उडान प्रभावित भएको नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख द्वारिका अछामी नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार लुक्लाबाट तीन र सुर्केबाट सातवटा हेलिकप्टरले उडान गर्दा केही राहत भएको छ । आइतबार तीनवटा हेलिउडान भएका छन् ।

पर्यटकीय सिजनको अन्त्य हुँदै गएको र हिमाल आरोहण गरी फर्कने यात्रु समस्यामा भएको पर्यटन व्यवसायीले बताएका छन् । लुक्लामा हाल तारा एयरले मात्र उडान गर्ने गरेको छ भने समिट र सीता एयरले उडान झिकेका छन् । तत्काल मौसममा सुधार हुने अवस्था नदेखिएपछि कतिपय यात्रु पैदलमार्फत सदरमुकाम सल्लेरी हुँदै सडक मार्गबाट गन्तव्य तय गरेका छन् । विमानस्थलमा भिजिबिलिटी अत्यन्त न्यून रहेकाले हवाईजहाज तथा हेलिकप्टर उडान तथा अवतरण हुन नसकेको हो ।