• ४ साउन २०८१, शुक्रबार

नहरको पानी बस्तीमा पस्छ

blog

भत्केको नहरको पानी पसेर जलमग्न नयाँ बस्ती । तस्बिर : जीवछ यादव

जीवछ यादव

लहान, जेठ ३० गते । भवरा नहरको पानी थुनिएर बस्तीमा पानी पस्ने समस्याबाट स्थानीयवासी पीडित बन्दै आएका छन् । लहान नगरपालिकाको १ र २ नम्बर वडाबाट बग्ने भवरा नहर पुरेर घरसमेत निर्माण गरिसकेकाले प्रत्येक वर्ष नहर भत्किने र नहरको वरिपरि रहेको नयाँ बस्तीमा पानी पसेर ठूलो समस्या उत्पन्न भएको स्थानीय विन्देश्वर चौधरीको भनाइ छ । 

वर्षाको समयमा नहरको डिलमा रहेका एक सय घर दलित समुदाय रातभरि जाग्राम बस्नुपर्ने बाध्यता रहेको अर्का स्थानीय प्रमिला रामले दुखेसो पोख्नुभयो । नहरको पानी खुलस्त रूपमा बग्न लहान–२ देखि लहान–१९ को सिमानासम्म दुई किलोमिटर उकास गर्नुपर्ने अवस्था छ । यसका लागि पटक–पटक लहान नगरपालिकासँग गरेको आग्रहको सुनुवाइ नहुँदा समस्या झन् जटिल बन्दै गइरहेको प्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन् । 

बजारबाट नहरको पानी दक्षिणतर्फ निकास हुँदा खेती सिँचाइका लागि निकै वर्ष पहिले खनेको नहर निकासका लागि साँधुरो भएको तर मर्मतमा चासो नदिँदा समस्या विकराल बनिरहेको लहान–१९ का रघुनाथ यादवले बताउनुभयो । यसका लागि नगरपालिकालाई निकास खोज्न स्थानीयले सामूहिक रूपमा आग्रह गरेका छन् ।