• २ माघ २०८२, शुक्रबार

भूकम्पबाट सुरक्षित रहने उपाय अवलम्बन गर्नुपर्छः प्रदेश प्रमुख देवकोटा

blog

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ।

अनिल पराजुली    
हेटौँडा, माघ २ गते ।
बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले भूकम्पबाट सुरक्षित रहने हरेक उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ । २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्रबार जारी सन्देशमा उहाँले राज्यका निकाय र आम जनसमुदायले भूकम्पीय सुरक्षालाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो ।

“आजको दिनले हामीलाई थप सचेत र जिम्मेवार बनाइ सुरक्षित जीवनको आधार तयार गर्ने मार्गमा अघि बढ्ने प्रेरणा दिनेछ,” उहाँले भन्नुभएको छ । सबै तहका सरकार र नागरिक समाज भूकम्पीय सुरक्षाका सवालमा चनाखो र तम्तयार हुनुपर्छ ।
 
विगतका भूकम्पीय त्रासका अनुभवहरूलाई स्मरण गर्दै उहाँले विगतका गल्तीबाट पाठ नसीक्ने हो भने भविष्यमा अकल्पनीय धनजनको क्षति भोग्नुपर्ने चेतावनी दिनुभयो । “सबै तहका सरकार, सबै नागरिकको तयारीः भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी” भन्ने मूल नारासहित दिवस देशभर सप्ताहव्यापी रूपमा मनाइँदै छ ।

प्रदेश प्रमुख देवकोटाले सम्भावित क्षति न्यूनीकरणका लागि भूकम्पीय सचेतना अभिवृद्धि, पूर्वतयारी र प्रतिकार्य क्षमतामा सुधार ल्याउनुपर्ने बताउनुभयो । “हामी परेपछि समाधान गरौँला भनेर निश्चिन्त हुँदा कतै अकल्पनीय विनाशलाई पर्खिरहेका त छैनौँ ?” उहाँले प्रश्न गर्दै जोखिम न्यूनीकरणको पूर्व तयारीमा जुट्न आह्वान गर्नुभयो ।

वि.सं. १९९० साल माघ २ गतेको विनाशकारी महाभूकम्पको स्मृतिमा सरकारले वि.सं. २०५५ देखि प्रत्येक वर्ष माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसको रूपमा मनाउँदै आएको छ । भूकम्प प्राकृतिक विपत्ति भएकाले यसको रोकथाम सम्भव नभए पनि सुरक्षित संरचना, सावधानी र तयारीमार्फत क्षति न्यूनीकरण गर्न सकिने विज्ञहरूको भनाइ छ । वि.सं. २०७२ सालको महाभूकम्पले एक दशक काटिसकेको छ ।