टोपलाल अर्याल
रेसुंगा (गुल्मी), माघ २ गते । नेपालका चार धाम मध्येको एक रुरु क्षेत्रमा लाग्ने माघी मेलामा जिल्ला स्तरीय कृषि प्रदर्शनी गरिएको छ । रुरुक्षेत्र गाउँपालिकाको आयोजना तथा गुल्मीदरवार, छत्रकोट, सत्यवति गाउँपालिका र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई गुल्मी, कृषि ज्ञान केन्द्र गुल्मी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहआयोजनामा जिल्ला स्तरीय कृषि प्रदर्शनी सञ्चालन गरिएको छ ।
कृषकहरुले आफुले उत्पादन गरेका खाद्यान्न बाली तर्फ (घोघा तथा बाला वा झोप्पा सहित), तरकारी, आलु टमाटर तथा कोसेबालीतर्फ (बोटसहित) कन्दमुल र जरेबाली सिङ्गो, मौरी (चाकासहित),कफी तथा अमिलो जातका फलफूल (हाँगासहित), मसलाबाली, विउविजन, स्थानीय तथा रैथाने बालीहरुलाई प्रदर्शनीका लागि माग गरिएको रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले जानकारी दिनुभयो ।
प्रदर्शनी भएका कृषिजन्य बस्तुहरुलाई विभिन्न विधामा वर्गीकरण गरी प्रथमलाई पाँच हजार, द्वितियलाई चार हजार, तृतीयलाई तीन हजार र सान्त्वनालाई दुई हजार रुपियाँ पुरस्कार स्वरुप प्रदान गरिने रुरुक्षेत्र गाउँपालिकाको कृषि शाखा प्रमुख सुमन कुवर क्षेत्रीले जानकारी दिनुभयो । कृषकहरुले आफुले उत्पादन गरेका कृषि सामग्रीहरुको प्रर्दशन गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । सत्यवति गाउँपालिका उपप्रमुख निरमाया तरामुले सत्यवतिका रैनाथे सवै बालीहरुलाई प्रदर्शनीमा राखेको जानकारी दिनुभयो ।
गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सगंमस्थल रिडीमा कालिगण्डकीमा स्नान गर्ने र ऋषिश्वर देबताको दर्शन गर्न दर्शनार्थीहरुदेखि व्यापार गर्नेहरुको दैनिक भीड लाग्ने गरेको छ । रुरु क्षेत्रको कालीगण्डकी स्नानका लागि गुल्मी, पाल्पा, स्याङ्जा अर्घाखाँची, प्यूठान, रुपन्देही, पर्वत, वाग्लुङ र भारतको सीमावर्ती क्षेत्रबाट समेत भक्तजनहरु आउने गर्दछन । भने व्यापारका लागि रुकुम, रोल्पा, जुम्लादेखिका व्यापारी रिडि आउने गरेका छन् ।
रुरु क्षेत्रमा परापूर्व कालदेखि नै माघ सङ्क्रान्तिदेखि तीन दिनसम्म जेठी, माइली र कान्छी सङ्क्रान्तिको रुपमा मेला लाग्ने गरेको थियो । तीन मुखे पुल बनेपछि तीन जिल्लाकै क्षेत्रमा मेला लाग्ने गरेको छ । तीन वटा जिल्लामै कृषि, पेन्सी, खाना, हस्तकलाका सामग्रीहरुको स्टल राख्ने गरिएको छ । गुल्मीमा १६०, पाल्पामा १०० र स्याङ्जा १५ स्टल निर्माण गरिएको छ ।