विनय कर्ण
कल्याणपुर (सप्तरी), माघ २ गते । सप्तरीमा निर्वाचन प्रहरीका लागि सात हजारभन्दा बढी आवेदन परेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रहरीमा भर्ना हुन आवेदन दिने अन्तिम दिन बिहीबार साँझ सम्ममा सात हजार चार सय ४४ जनाले आवेदन दिएका हुन् ।
सप्तरीमा चार हजार दुई सय सय २२ जना निर्वाचन प्रहरी आवश्यक रहेकोमा बिहीबार साँझसम्ममा सात हजार चार सय ४४ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो । आवेदन दिनेमा छ हजार पाँच पुरुष र एक हजार चार सय ३९ जना महिला रहेको उहाँले बताउनुभयो ।
माघ ५ देखि ९ गतेसम्म छनोट, १२ गते अन्तिम नतिजा प्रकाशन र १५ गतेदेखि २४ गतेसम्म तालिम दिइने कार्यतालिका रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँगको समन्वयमा निर्वाचन प्रहरीका लागि सुरु गरिएको आवेदन प्रक्रियामा १८ वर्ष पूरा भइसकेका र ५४ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिएका छन् ।
निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति मितिदेखि ४० दिन रहनेछ वा नेपाल सरकारले तोकेअनुसार हुनेछ । सेवा सुविधाअन्तर्गत प्रतिदिन आठ सय ६९ रुपियाँ ४० पैसाका दरले ४० दिनको पारिश्रमिक ३४ हजार सात सय ७६ रुपियाँ प्रदान गरिने जनाइएको छ । योसँगै सम्बन्धित जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउने दररेट अनुसार खाद्यान्न खर्च पनि उपलब्ध गराइने छ ।