• १७ कात्तिक २०८१, शनिबार

माथिल्लो तमोरबाट उत्पादन हुने बिजुली २२० केभीमा जडान गरिने

blog

सार्वजनिक सुनुवाइ कार्यक्रमका अतिथिलगायत । तस्बिर ः चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङस्थित माथिल्लो तमोरबाट उत्पादन हुने बिजुलीलाई २२० केभी प्रसारणलाइनमा जडान गरिने भएको छ । माथिल्लो तमोर जलविद्युत आयोजनाबाट उत्पादित ऊर्जा नेपाल विद्युत प्राधिकरणले ढुङ्गेसाँघुमा निर्माण गरिरहेको २२० केभी क्षमताको प्रसारणलाइनमा जडान गरिने भएको हो । 

माथिल्लो तमोरको प्रस्तावक कम्पनी तमोर सानिमा इनर्जी प्रालिका अनुसार प्रस्तावित आयोजनाबाट उत्पादन हुने विद्युतीय ऊजालाई राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न २२० केभीमा जडान गरिने छ । विद्युतीय ऊर्जालाई २२० किलोभोल्ट प्रसारण लाइनमा जडान गर्ने प्रक्रियासँगै सानिमा हाइड्रो एण्ड इञ्जिनियरिङ प्रालिले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पारेको छ । 

प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनलाई पूर्णता दिनलाई तमोर सानिमा इनर्जी प्रालिले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरी सरोकारवाला तथा प्रभावित क्षेत्रका बासिन्दाको राय सुझाव लिएको छ ।

फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा शनिबार आयोजित सार्वजनिक सुनुवाइमा सरोकारवाला तथा स्थानीयको रायसुझावलाई समेटेर प्रतिवेदनलाई पूर्णता दिइने इञ्जिनियरिङ प्रालिका महाप्रबन्धक सकुन्द ओझाले बताउनुभयो । 

माथिल्लो तमोरबाट उत्पादन हुने ऊर्जालाई विद्युत गृहदेखि मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुमा निर्माणाधीन २२० केभी प्रसारण लाइनको सव–स्टेसनसम्म पु¥याउनलाई डबल सर्किट प्रसारण लाइन ४.७ किलोमिटर लामो दूरी हुने छ । 

प्रतिवेदन तयारी कार्यमा संलग्न वातावरणविद् शारदा पन्तका अनुसार विद्युत जडानको प्रसारण लाइनमा फुङ्लिङ नगरपालिका–१० फुरुम्बु पुछारमा एउटा, मिक्वाखोला गाउँपालिका–२ खोक्लिङमा ५ वटा टावर पोल (खम्बा) निर्माण गर्नुपर्ने छ । 

यस्तै, फक्ताङ्लुङ गाउँपालिका–१ सावादिन क्षेत्रमा सातवटा गरी कुल १३ वटा टावर निर्माण गर्नुपर्ने हुन्छ । फुङ्लिङ नगरपालिका, फक्ताङ्लुङ, मिक्वाखोला र मैवाखोलाका थुम्बा, मित्लुङ, खैरेनी, खुर्पादिन, फुरुम्बु, ठौवा, नाक्ला र लोरिन्दिन आदि गाउँ हुँदै प्रसारण लाइन विस्तार गर्नुपर्ने अवस्था रहेको वातावरणविद् पन्तले जानकारी दिनुभयो । 

अर्का वातावरणविद् सुमन प्रजापतिले प्रतिवेदन तयार पार्ने क्रममा प्रसारण लाइन विस्तारको कार्य कार्यान्वयन गर्नलाई विभिन्न ५१ सवाललाई आधार बनाएको बताउनुभयो । 

भौतिक, जैविक, साँस्कृतिक पक्ष तथा प्रभावित क्षेत्र र असरको प्रकृतिलाई अध्ययन गरी उक्त सवालहरु पहिचान गरिएको प्रजापतिले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाले २१ घरधुरीलाई प्रत्यक्ष प्रभावित पार्ने छ । 

यस्तै, आयोजना सञ्चालन गर्दा वन क्षेत्रबाट ५६ प्रजातिका एक हजार ५३५ वटा रुख कटान गर्नुपर्ने हुन्छ । यसरी जैविक वातावरणमा पर्ने नकारात्मक असर कम गर्न र सकारात्मक असरको वृद्धि गर्न कटान हुने रुख विरुवाको क्षतिपूर्ति बापत १५ हजार ३५० वटा बिरुवा रोप्नुपर्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ ।

यता स्थानीयले भने जलविद्युत उत्पादन तथा प्रसारण लाइन विस्तारको कार्य गर्दा स्थानीयलाई रोजगारीको अवसर दिनुपर्ने माग गरेका छन् । आयोजना सञ्चालन गर्नुपूर्व गरिने शर्तहरु पछि कार्यान्वयन नहुने गरेकाले आयोजना सञ्चालन वा निर्माण कम्पनीले स्थानीय मजदुर तथा श्रमिकलाई रोजगारी दिने प्रतिबद्धता गर्नुपर्ने माग गरिएको छ ।

श्रम गर्ने अवसर अर्थात् रोजगारी नदिएमा आयोजना कार्यान्वयनको चरणमा कुनै बाधा अवरोध आएमा कम्पनी स्वयम् जिम्मेवारी हुनुपर्नेसमेत स्थानीय अगुवाले सचेत गराएका छन् ।

प्रस्तावित माथिल्लो तमोर जलविद्युत आयोजनाबाट उत्पादन हुने २८५ मेगावाट क्षमताको विद्युतीय ऊर्जालाई ढुङ्गेसाँघुमा निर्माणाधीन २२० केभी स्टेसनमा जडान गरिने भएको हो । कोसी करिडोर प्रसारण लाइनका रुपमा नामाकरण गरिएको ढुङ्गेसाँघ सव–स्टेसन हुँदै माथिल्लो तमोर र निर्माणाधीन मध्य तमोर जलविद्युत आयोजनाको ७३ मेगावाटसमेत ३५८ मेगावाट बिद्युतीय ऊर्जा राष्ट्रिय प्रसारण प्रणालीमा समाहित हुने छ ।