• २१ असार २०८१, शुक्रबार

बजेट कार्यान्वयनमा हरेक क्षेत्रले योगदान दिनुपर्छ : अर्थमन्त्री शर्मा

blog

काठमाडौं, जेठ २९ गते। अर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको बजेट कार्यान्वयनमा प्रश्न उठेको भन्दै हरेक क्षेत्रले आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताउनुभएको छ।  उहाँले आर्थिक अस्थिरताबाट स्थिरतातर्फ लाने र मुलुक तथा नागरिकको आवश्यकताका आधारमा बजेट निमार्ण भएकाले यसको कार्यान्वयमा सबैले एकताबद्ध भएर लाग्नुपर्ने उल्लेख गर्नुभयो। आइएमई लिमिटेडकाे २२ औं वार्षिकोत्सवकाे अवसरमा बाेल्नुहुँदै उहाँले यस्ताे बताउनुभएकाे हाे । 

विप्रेषण वैधानिक प्रणालीमार्फत भित्र्याउन सरकार लागिपरेको सन्दर्भ जोड्दै उहाँले अवैधानिक गतिविधिलाई नियन्त्रण गर्न आइएमई जस्ता संस्थाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा समेटेको विप्रेषणलाई व्यवस्थित बनाउन आइएमईले महत्वपूर्ण योगदान दिएको अर्थमन्त्री शर्माको भनाइ छ। 

उहाँले भन्नुभयो, “हुन्डी कारोबारलाई हतोत्साही बनाउँदै यस्ता संस्थाले विदेशमा श्रम बेचेर कमाएको पैसा स्वदेशमा पठाउन महत्वपूर्ण भूमिका खेलेको छ, आइएमई जस्ता संस्था अझ सशक्त हुनुपर्छ।”

अझै पनि विदेशबाट अनौपचारिक माध्यमबाट पैसा आइरहेको अवस्थामा त्यसको रोकथाममा यस्ता संस्थाले आफ्ना सेवा विस्तारका साथै प्रविधिको उच्चतम् प्रयोग गरी औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउन पहल गर्नुपर्नेमा मन्त्री शर्माको भनाइ छ। 

अर्थमन्त्री शर्माले वैदेशिक मुद्रा प्राप्तिमा रेमिट कम्पनीको भूमिका उल्लेखनीय भएको बताउनुभयो। “विप्रेषणले ग्रामीण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ, यसले गरिबी निवारण गर्ने सरकारको पहलकदमीमा पनि धेरै मद्दत मिलेको छ”, उहाँले भन्नुभयो, “विदेशमा रहेका नेपालीको कमाई सुरक्षित रुपमा नेपाल पठाउने माध्यम रेमिट कम्पनी बनिरहेका छन्।”

विप्रेषणको ठूलो रकम उपभोगमा खर्च भइरहेको र आउँदा दिनमा ठूला पूर्वाधारमा लगानी केन्द्रित गर्नुपर्ने खाँचो रहेको उहाँले बताउनुभयो। आर्थिक वर्ष ०७९/८० को बजेटले पनि रेमिट्यान्सका माध्यमबाट वैदेशिक मुद्रा भित्र्याउने धेरै विषयलाई सम्बोधन गरेको उहाँले जानकारी दिनुभयो। 

“बजेटले रेमिट्यान्सबाट आएको पैसा मात्रै ल्याउने उद्देश्य राखेको छैन, अहिले सामान्य प्रणालीमा आइरहेको वैदेशिक मुद्रालाई एक कदम अघि बढेर विशेषरुपमा विदेशी मुद्रा भित्र्याउने भनिएको छ”, उहाँले भन्नुभयो, “यो भनेको हामीसँग भएको स्रोत, साधनको उत्पादन वृद्धि र प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने र विदेशी मुद्राको आर्जन गर्ने भन्ने हो।”

श्रम बेचेर पैसा कमाइरहेको परिस्थितिलाई परिवर्तन गर्ने गरी आगामी आबको बजेटले उत्पादन बेचेर विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो। उहाँले मुलुकको अर्थतन्त्रमा हाल देखिएको तरलता व्यवस्थापनको समस्या समाधान गर्न आगामी मौद्रिक नीतिले नीतिगत सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो। 

उहाँले विभिन्न क्षेत्रमा लगानी भित्र्याइ देशभित्र उपलब्ध पूँजीको परिचालन गरी तरलता सहज बनाउने दृढता व्यक्त गर्नुभयो। मन्त्री शर्माले कृषि, उद्योग तथा सेवा क्षेत्रको प्रवद्धन गरी स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्नसक्ने नीति सरकारले राखेको जनाउँदै यस्ता क्षेत्रको विकासमा सरकार गम्भीर रहेको बताउनुभयो। उहाँले मुलुकको आर्थिक विकास तथा समृद्धिमा उत्पादनका साधनको प्रयोग महत्वपूर्ण हुनेहुँदा यस्ता साधनको उच्चतम प्रयोगमा जोड दिनुभयो। 

मुलुक बाहिरको कमाई औपचारिक माध्यमबाट भित्र्याउन सरकारले नीतिगत क्षेत्रमा समयसापेक्ष सुधार गर्ने जनाउँदै उहाँले मुलुकमा लगानी भित्र्याउनका साथै विदेशमा श्रम गरिरहेकाका लागि प्राथमिक शेयर निश्कासनमा कोटा छुट्याउनेदेखि विदेशमा बस्ने नेपालीलाई डलर खाता खोल्ने नीति कार्यान्वयनमा ल्याइएको बताउनुभयो।

कार्यक्रममा मुख्य सचिव शङ्करदास बैरागीले औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउन आइएमई जस्ता संस्थाको महत्वपूर्ण भूमिका रहेको जनाउँदै यसले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको बताउनुभयो। 

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले आइएमई लिमिटेडले विदेशी मुद्रा भित्र्याउने संस्कृतिमा रुपान्तरण गरेको बताउनुभयो। उहाँले गास, बास र कपासका लागि रेमिट्यान्सको रकम बढी खपत भइरहेकामा आउँदा दिनमा पूँजी निर्माणमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। 

“रेमिट्यान्सको पैसा व्यक्तिगत खपतमा बढी प्रयोग हुने गरेको देखिन्छ, पहिले त गास, बास र कपासको व्यवस्थापन नै गर्ने हो”, उहाँले भन्नुभयो, “आउँदा दिनमा भने रेमिट्यान्सको पैसा राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकता छ।” रासस