• ९ जेठ २०८१, बुधबार

तीनसय किसानलाई कृषि उपकरण वितरण

blog

किसानलाई कृषि उपकरण प्रदान गरिंदै । तस्विरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, जेठ २९ गते । रुपन्देही सिद्धार्थनगरका तीनसय बढी किसानलाई विभिन्न कृषि उपकरण प्रदान गरिएको छ । दोगहरी स्मार्ट कृषिगाउँ कार्यक्रमको स्वीकृत आर्थिक वर्ष २०७८–७९ अन्तर्गत सिद्धार्थनगर–१० का किसानहरुलाई कृषि उपकरण उपलव्ध गराइएको हो । कृषि ज्ञान केन्द्र रुपन्देहीबाट अनुदान प्राप्त सामग्री वितरण गरिएको छ ।

वडा १० अन्तर्गत दोगहरी, शंकरपुर, छोटकी शंकरपुर, धरमपुर, बेलडिहवाका किसानलाई कृषि उपकरण प्रदान गरिएको स्मार्ट कृषिगाउँ कार्यक्रमका अध्यक्ष प्रल्हाद मुराउले बताउनुभयो ।

विगत दुई वर्षदेखि सञ्चालित कार्यक्रम अन्तर्गत भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश र कृषि ज्ञान केन्द्र रुपन्देहीको सहयोगमा यस वर्ष तीनसय बढी किसानलाई ५३ लाख ५७ हजार मूल्य बराबरको विभिन्न उपकरण प्रदान गरिएको स्मार्ट कृषिगाउँ कार्यक्रमका सचिव राजकुमार चाईले बताउनुभयो । 

उहाँकाअनुसार वितरण गरिएको सामग्रीमा हाते ट्याक्टर, मोटर पम्प, स्प्रे मेसिन, डेलिभरी पाइप, धान कुट्ने मेसिन, धान थ्रेसर, कम्प्युटर कांटा, डेहरी, माटो लेभलर, ह्युमी गोल्ड, बिउलगायत छन् । सचिव चाईले अघिल्लो वर्ष १०२ घरपरिवारलाई कृषि उपकरण वितरण गरिएको जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्री सन्तोषकुमार पाण्डेयले किसानलाई कृषि उपकरण हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा पूर्वमन्त्री पाण्डेयले चार वर्षे कार्यक्रममा सिद्धार्थनगर–१० का नागरिक लाभान्वित हुने बताउनुभयो । सिद्धार्थनगर–१० मा अधिकांश वडाबासी कृषि पेशामा आश्रित भएकाले वितरण गरिएको कृषि सामग्रीले किसान र उहाँहरुका परिवारलाई काम गर्न थप प्रेरणा प्रदान गरिने बताउनुभयो । 

प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि आफ्नो पहलमा कृषिसम्बन्धी कार्यक्रम वडामा सञ्चालनमा आएको र कार्यक्रमबाट लाभान्वित भएपछि किसान समेत खुसी भएको बताउनुभयो । 

उहाँले भन्नुभयो– “म प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि मेरै पहलमा यो कार्यक्रम आएको हो, मन्त्री भएपछि अन्य विभागीय मन्त्रीहरुसँग निरन्तर अनुरोध गर्दै कृषि क्षेत्रलाई प्राथमिकता दिदै अगाडि बढेको छुँ, आगामी दिनमा पनि यस्ता कार्यक्रम ल्याउन पहल गर्नेछु ।”