काठमाडौँ, जेठ १४ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गणतन्त्र दिवस उत्सवको रुपमा मनाउनुपर्ने बताउनुभएको छ ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले गणतन्त्र दिवसको उत्सव जनताको खुसीयालीका माध्यमबाट प्रकट हुनुपर्ने बताउनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो, “गणतन्त्र दिवस उत्सवको रुपमा हुनुपर्छ भन्ने र लोकतन्त्र, गणतन्त्र माथिको प्रहार जनताका लागि स्वीकार्य छैन भन्ने, जनताको खुसीयालीका माध्यमबाट प्रकट गर्नुपर्दछ । कसैको विरोध होइन, जनताको उपलब्धिको खुसीयाली प्रकट गर्ने एउटा समारोह आयोजना गर्न खोजेका छौँ ।”
उहाँले एमालेले मात्र नभइ सबै राजनीतिक दल, नेता, कार्यकर्ता र आम जनताले गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाउनुपर्ने भनाइ राख्नुभयो ।
उहाँले भन्नुभयो, “पछिल्लो समय जसरी लोकतन्त्र र गणतन्त्रमाथि प्रहार गर्ने प्रयत्न भइरहेको छ । आर्थिक, सामाजिक परिवर्तन आफैंमा महत्त्वपूर्ण छ । नेपालका राजनीतिक दलले प्रकट गर्नुपर्दछ भन्ने मान्यताका पक्षमा हो, कसैको विरोध होइन ।”
महासचिव पोखरेलले नेपालमा राजनीतिक दलको इतिहास त्यति पुरानो नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेकपा स्थापना भएको समय हेर्ने हो भने ठ्याक्कै ७६ वर्ष भयो। के अर्थमा भन्दा राजनीतिक दलले अवसर नै कम पाएका छन् । नेपालको राजनीतिक दलको इतिहास नै धेरै पुरानो छैन । नेपाली कांग्रेसको हकमा भन्ने हो भने दुई, तीन वर्षको अन्तर हो । त्यस अन्तरमा कुनै पनि राजनीतिक दलको इतिहास सय वर्ष पनि पुगेको छैन ।”