• ५ जेठ २०८१, शनिबार

शिक्षाक्षेत्रमा आमूल परिवर्तन गर्न आवश्यक: प्राडा. सुवेदी

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २९ गते । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा. भीमप्रसाद सुवेदीले नेपालको शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न आवश्यक भएको बताउनुभएको छ ।

विश्वविद्यालय अनुदान आयोग र मङ्गल बहुमुखी क्याम्पसद्वारा संयुक्त रुपमा आयोजित पाँच दिने कार्यशाला समापन कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।

‘‘नेपालमा अहिलेसम्म शिक्षाक्षेत्रमा शिक्षक र प्राध्यापकलाई विद्यार्थी सिकाउने विधिबारेमा मात्र केन्द्रित हुने चलन छ’’ उहाँले जोड दिएर भन्नुभयो, ‘‘विश्वमा शैक्षिक क्षेत्रमा आमूल परिवर्तन आइसकेको छ, नेपाल अहिलेसम्म विगतका शिक्षण सिकाइ विधिमा अल्झिरहेको छ । हामी पनि प्रतिस्पर्धी हुनु जरुरी छ ।’’  

 

उहाँले विकासको लागि शिक्षा र शिक्षाको विकासको लागि विभिन्न क्षेत्रमा अनुसन्धान र अनुसन्धानमा आधारित लेखहरुको अपरिहार्यतामा जोड दिनुभयो ।

शैक्षिक क्षेत्रको विकासको लागि विकसित मुलुकमा १५ प्रतिशतसम्म बजेट छुट्याइने गरिएको चर्चा गर्नुहुँदै उहाँले नेपाल सरकारले आउँदो दिनमा शैक्षिक बजेट बढाउन माग गर्नुभयो ।

उहाँले शोधकार्य र अनुसन्धानत्मक लेखका विषयमा विदेशमा जानुपर्ने शोधार्थीहरुलाई सहज पार्ने सम्पूर्ण आर्थिक सहयोग गर्न आयोग तत्पर रहेको बताउनुभयो ।


मङ्गल बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्राडा. लक्ष्मीबहादुर महर्जन, कार्यशालाका संयोजनकर्ता प्राडा. श्यामकृष्ण महर्जन, क्याम्पस प्रमुख प्रदीप महर्जनले कार्यशालामा सिकेका ज्ञानलाई व्यावहारिक रुपमा उतार्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।

कार्यशालामा गुणात्मक र मात्रात्मक तथ्याङ्कहरुलाई वैज्ञानिक विधिद्वारा विश्लेषण गर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।


त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा. हीराबहादुर महर्जनलगायत १५ जना विज्ञले प्रशिक्षण दिनुभएको पाँचदिने कार्यशालामा विभिन्न क्याम्पसमा अध्यापनरत २० जना प्रशिक्षार्थीलाई प्रशिक्षण दिइएको क्याम्पस संयोजक उपप्रा.डा. सिद्धिबहादुर महर्जनले जानकारी दिनुभयो । कार्यक्रममा प्राडा. रामकृष्ण महर्जन, प्राडा. धर्मराज डङ्गोल, प्राडा. शिवशरण महर्जन, कार्यक्रम सहजकर्ता रक्की महर्जनलगायतको उपस्थिति थियो । –उपेश महर्जन