• १४ वैशाख २०८१, शुक्रबार

प्रशिक्षक अलमुताइरी खतरामुक्त

blog

काठमाडौं, जेठ २९ गते । एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा कुवेतविरुद्ध खेल चलिरहेका बेला टेक्निकल बक्समा बेहोस भएर ढल्नुभएका नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । 

कुवेतस्थित जाबिर अल अहमद स्टेडियममा शनिबार राति खेल चलेरहेको बेला अलमुताइरी एक्कासि बोहोस भएर ढल्नुभएको थियो । दोस्रो हाफको सुरुवातमै अचेत भएपछि उहाँलाई मेडिकल टिमले प्राथमिक उपचारपछि अक्सिजन लगाएर थप उपचारका लागि फारवानिया अस्पताल लगेको थियो । 

अलमुताइरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको र उहाँको अवस्था सामान्य रहेको नेपाली टोलीका ब्यवस्थापक मधुसूदन उपाध्यायले बताउनुभयो । उपाध्यायका अनुसार अस्पतालले अलमुताइरी ढल्नुको कारण विकनेस रहेको जनाएको छ । यसअघि नेपालमा छँदा अलमुताइरीमा मुटुको समस्या रहेको बताइएको थियो ।

एसियन कप छनोटकै बन्द प्रशिक्षणका क्रममा टोलीका सिनियर खेलाडी रोहित चन्दसहित १० खेलाडीले प्रशिक्षक अलमुताइरीको ब्यवहारप्रति असन्तुष्टि जनाउँदै बन्द प्रशिक्षण क्याम्प छोडेपछि फुटबलमा उब्जिएको विवाद समाधान गर्न गठित छानबिन समितिले पनि अलमुताइरी अस्वस्थ रहेको उल्लेख गरेको थियो । 

उपचारपछि डिस्चार्ज हुनुभएका प्रशिक्षक अलमुताइरी आफैले हारप्रति क्षमायाचना गर्नुभएको छ । सामाजिक सञ्जालमार्फ उहाँले आफू ‘गोर्खाली’ भएको भन्दै हारप्रति चिन्ता गर्नु नपर्ने पनि बताउनुभएको छ । एन्फाको फेसबुक पेजमा अलमुताइरीलाई उल्लेख गर्दै लेखिएको छ, ‘आजको खेलको लागि म माफी चाहन्छु । हामी भोलिबाट नियमित तालिका अनुसार हाम्रो योजनामा अघि बढ्नेछौं । एक टिम, जय नेपाल ’ 

प्रशिक्षक अलुमताइरीले छनोट खेल सकिएपछि आफ्नो स्वास्थ्यको पूर्ण परिक्षण गर्ने समेत बताउनुभएको छ । एक बर्षअघि नेपाली टोलीको प्रशिक्षक बन्नुभएका अलमुताइरी कुवेतकै नागरिक हुनुहुन्छ । शनिबार राति कुवेतविरुद्धको खेल उहाँका लागि जन्मभूमिविरुद्ध कर्मभूमिको लडाइँ थियो । उक्त खेलमा नेपाल कुवेतसँग ४-१ गोलले पराजित भयो । 

छनोटको समूह ‘ए’ मा रहेको नेपालले लगातार दोस्रो हार खेपेपछि एसिया कपमा छनोट हुने सम्भावना सकिएको छ । नेपाल यसअघि पहिलो खेलमा जोर्डनसँग २-० गोलले पराजित भएको थियो । समूहको अन्तिम खेलमा नेपालले अब मङ्गलबार इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ । एएफसीका अनुसार समूहको शीर्षटोली र पाँच समूहको उत्कृष्ट उपविजेता टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपका लागि छनोट हुनेछन् ।