पुष्कर भण्डारी
डडेल्धुरा, जेठ १२ गते । भित्रिमधेश जोगबुडाबासीले जग्गाधनी प्रमाणपत्र लालपुर्जा पाएका छन् । परशुराम नगरपालिकाको १२ लालढुङ्गा बजारका ६४ जना अव्यवस्थित बसोबासीले एक दशपछि मात्रै पछि जग्गाधनी पुर्जा पाएका हुन् ।
२०५५ सालमा डडेल्धुराको परशुराम १२ को तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगले नापजाँच गरी जग्गा धनी दर्ता पुर्जा दिइसकेको थियो । तर दर्ताले बैधता नपाएकाले पुनः दर्ता प्रक्रिया सुरु गरि सोमबार स्थानीयहरु लाई पुर्जा वितरण गरिएको छ ।
सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले परशुराम नगरापालिका १२ की कालीदेवी कामीलाई जग्गाधनी दर्ता पुर्जा वितरण गरि पुर्जा वितरणको शुभारम्भ गर्नुभएको थियो । सोहि अवसरमा सबै भन्दा पहिले पुर्जा दर्ता प्रकृया गर्ने र राजस्व जम्मा गर्ने प्रेम बहादुर बोहरालाई दोसल्ला ओडाइ सम्मानसमेत गरिएको छ ।
परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीको अध्यक्षता तथा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको प्रमुख आतिथ्यतामा जग्गाधनी दर्ता पुर्जा हस्तान्तरण तथा वितरण गरिएको छ । भूूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि प्रसाद रिजाल, सुदुरपश्चिम प्रदेशका भूमि कृषि सहकारी मन्त्री बीरबहादुरसहितको उपस्थितीमा पुर्जा वितरण गरिएका छन् ।
भूमि सम्बन्धि समस्या समाधान आयोग डडेल्धुराले परशुराम १२ का ६४ जनाको सम्पूर्ण प्रकृया पूरा गरि पुर्जा नगरपालिकालाई हस्तान्तरण गरेको थियो । लालढुङ्गा बजारका ६४ जना जग्गा धनीको पुर्जा जग्गाधनीलाई उपलब्ध गरिएको छ । अब यहाँको अन्य क्षेत्रमा पनि छिटै पुर्जा वितरण प्रकृया गरिने आयोगका डडेल्धुरा अध्यक्ष कैलास कुमार पाण्डेयले बताउनुभयो ।
यस्तै भित्रिमधेशकै आलिताल गाउँपालिकाका १९ जना दलित, भूमिहिन, सुकुम्बासी पुर्जा पाउने अयोग सदस्य सचिव तथा नापी कार्यालय डडेल्धुराका प्रमुख देबदत्त पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार लालढुङ्गा बजारका ७२ जनाको १०९ कित्ताको जग्गा दर्ता गरिएको छ ।
आयोगले आलिताल गाउपालिका ८ मा सात जना र वडा नं ४ मा १२ जना भूमिहिन दलित, भूमिहिन सुकुम्बासीको जग्गा दर्ता गरि जेठ १२ गते गाउँपालिकालाई उपलब्ध गराइ सकिएको छ । यस्तै आलिताल गाउपालिका ५ भावरका १६७ जग्गा धनीको जग्गा दर्ता असार १ गते देखि सुरु गरिन लागेको छ । वडा नं ८ स्यालचौडी, मौरी, हम्तड, कालोकोट, चीरान, गोदाम बजारमासमेत नापजाँच जारी रहेको छ ।