काठमाडौँ, जेठ १९ गते । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा कम्प्युटरको माध्यमबाट घुँडा प्रत्यारोपण गर्ने सेवा सुरु भएको छ ।
अस्पतालले नेभिगेटर ‘सिस्टम फर नि अर्थोप्लाष्टि’को माध्यमबाट घुँडा प्रत्यारोपण गर्न सुरु गरेको अस्पतालका हाडजोर्नी तथा जोर्नी प्रत्यारेपण विशेषज्ञ डा. सुमनबाबु मरहठ्ठले जानकारी दिनुभयो ।
अस्पतालले यो सेवा पहिलोपटक सञ्चालनमा ल्याएको अर्थोपेडिक सर्जन डा. मरहठ्ठको भनाइ छ । यो उपकरणबाट अस्पतालले शनिबार र आइतबा गरी दुई दिनमा चारखजनालाई सेवा दिनेछ ।
डा.मरहठ्ठ भन्नुहुन्छ, “यो उपकरणको माध्यमबाट अस्पतालले दुई दिनमा चारजनाको प्रत्यारोपण गरिसकेको छ । शनिबार भारतीय चिकित्सकको सहायतामा गरिएको छ भने आइतबार अस्पतालको आफ्नै टिमले प्रत्यारोपण गरेको हो ।”
यो प्रविधि सञ्चालन हुनुभन्दा पहिले अस्पतालले पराम्परागत तरिकाले जोर्नी प्रत्यारोपण गर्दै आएको थियो । त्यो बेलामा चिकित्सकको अनुभवको आधारमा प्रत्यारोपण गर्ने गरेको पनि डा.मरहठ्ठ बताउनुहुन्छ । अहिले यो प्रविधि भित्रिएसँगै अस्पतालले कम्प्युटरमा हेरेर बिरामीको जोर्नीमा कति क्षति भएको ? कति प्रत्यारोपण आवश्यक छ ? भनेर हेरेर गर्न सकिने उहाँको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, “नेभिगेसन प्रणाली अर्थात कम्प्युटर प्रणलीको माध्यमबाट कुनठाउँमा कस्तो समस्या छ हेरेर कस्तो उपचार आवश्यक पर्छ भनेर त्यहीअनुसार उपचार गर्न सकिन्छ ।”
डा.सुमन बाबु मरहठ्ठका अनुसार सिभिल अस्पतालले विगत १२ वर्षदेखि घुँडा तथा जोर्नी प्रत्यारोपण गदैँ आएको छ । यो अवधिमा अस्पतालले एक हजार देखि १२ सयको हारहारीमा प्रत्यारोपण गरेको डा.मरहठ्ठको दाबी छ ।
सरकारी अस्पतालमा हुने जोर्नी प्रत्यारोपण सेवा सिभिल अस्पतालमा सबैभन्दा बढी हुने मरहठ्ठको दाबी छ । उहाँकाअनुसार अस्पतालले सस्तोमा गुणस्तरीय घुँडा तथा जोर्नी प्रत्यारोपण सेवा दिदैँ आएको छ ।
अस्पतालले तीन लाखदेखि तीन लाख १५ हजार रुपियाँमा जोर्नी तथा घुँडा प्रत्यारोपण गर्दै आएको छ । २०८१ सालमा अस्पतालले १२९ जनाले घुँडा प्रत्यारोपण गरेका तथ्याङ्क छ । नेपालमा जोर्नी, घुँडा प्रत्यारोपण गर्ने बिरामीको संख्या दिनप्रत्यदिन बढ्दै गएको छ ।
के हो हड्डी खिइने समस्या ?
चिकित्सककाअनुसार हड्डी खिइने समस्या मुख्य रुपमा जोर्नीहरुमा हुने दीर्घकालीन समस्या हो । यो समस्या विशेषगरी, उमेर बढ्दै जाँदा, बाथरोग भएर चोट लागेर वा कुनै सङ्क्रमण भएर हड्डीमा भएको कार्टिलेज बिस्तारै घिर्सँदै जाने डा.मरहठ्ठले बताउनुभयो । हड्डी खिइदा जोर्नी दुख्ने, सुन्नीने, हिड्डुल गर्न गाह्रो हुने जस्ता लक्षण देखिने गर्छन् ।
कस्तो अवस्थामा प्रत्यारोपण गरिन्छ ?
जुनसुकै कारणले खिइएको घुँडा विभिन्न उपचार प्रद्धति जस्तै थेरापी, खोप, औषधीको माध्यमबाट दुखाई कम गर्न सकिएन भने र एक्स्रे गर्दा घुँडा वा जोर्नी खिइएको वा बाड्गो भएको देखिएमा घुँडा, जोर्नी, प्रत्यारोपण गर्न सकिने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “प्रत्यारोपण पछि बिरामीको दुखाई कम हुनुका साथै बिरामीलाइ पहिलेको अवस्थामा फर्काउन सकिन्छ ।”