काठमाडौँ, जेठ २० गते। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शैक्षिक प्रणालीलाई युवामैत्री बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्नु आवश्यक रहेको बताउनुभएको छ।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। शिक्षा केवल प्रमाणपत्र हासिल गर्ने माध्यममा सीमित हुन नहुने उहाँको भनाइ छ। उहाँले राष्ट्रको समृद्धि र प्रगति शिक्षाको स्तरसँग प्रत्यक्षरूपमा जोडिएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा व्यापक सुधारको आवश्यकता रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘शिक्षा एउटा ज्ञान आर्जनको माध्यम मात्र होइन। यो एउटा समुन्नत राष्ट्र निर्माणको लागि महत्त्वपूर्ण आधार हो। कुनै पनि राष्ट्रको प्रगति र समृद्धि त्यस राष्ट्रको शिक्षाको स्तरसँग प्रत्यक्ष रुपमा गाँसिएको हुन्छ। अतः हाम्रो शिक्षा प्रणालीको उद्देश्य केवल प्रमाणपत्र प्राप्त गर्ने, शिक्षित व्यक्तिको उत्पादनमा रहनु हुँदैन। परिवार, समाज र राष्ट्रप्रतिको गहिरो उत्ततरदायित्त्व बोध भएका सक्षम, इमान्दर, अनुशासित र जिम्मेवार तयार पार्ने हुनुपर्दछ।’’
उहाँले सूचना प्रविधि र यातायातको तीव्र विकासले आजको विश्वलाई सानो गाउँजस्तो बनाइदिएको उल्लेख गर्दै अवसरको सदुपयोग तथा चुनौतीको सामना गर्न सक्षम जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताउनुभयो।
विद्यालय तथा शैक्षिक संस्थामा पठनपाठनमा कुनै पनि बहानामा अवरोध नआउने गरी शिक्षामा लगानी बढाउनुपर्नेमा उहाँको जोड छ। उहाँले भन्नुभयो, ‘‘विश्वव्यापीकरणको यस प्रक्रियाले हाम्रा लागि एकातर्फ विभिन्न अवसरका ढोका खोलिरहेको छ भने अर्कातिर केही चुनौती पनि थपिएका छन्। प्राप्त अवसरको प्रभावकारी उपयोग गर्न र चुनौतीको सामना गर्नका लागि हामीले हाम्रा बालबालिकालाई गुणस्तरीय शिक्षाको माध्यमबाट अन्तर्राष्ट्रियस्तरमै प्रतिस्पर्धा गर्नसक्ने योग्य र सक्षम बनाउनु आवश्यक छ।’’
नेपाल प्राकृतिक स्रोत र साधनको धनी भए पनि सदुपयोग गर्न नसक्दा समृद्धिका अवसर गुमाइरहेको उहाँको भनाइ छ।