• २२ जेठ २०८२, बिहिबार

कालिन्जोर खोलामा पक्की पुल, आवतवाजत सहज

blog

परवानीपुरस्थित कालिन्जोर खोलामा निर्माण गरिएको पक्की पुल । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, जेठ २० गते । सर्लाहीको लालबन्दी नगरपालिका–१६, परवानीपुरस्थित कालिन्जोर खोलामा पक्की पुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ । 

खोलामा पुल नहुँदा स्थानीयलाई वर्षायाममा एक गाउँबाट अर्को गाउँमा जान असाध्य समस्या हुन्थ्यो । अहिले भने पक्की पुल निर्माण भएपछि खोलामा बाढी आउँदा पनि सहजरुपमा आउजाउ गर्न पाउँदा स्थानीय खुसी भएका छन् । 

लालबन्दी नगरपालिका–१५, चिसापानी र लालबन्दी नगरपालिका–१६, परवानीपुर चोकलाई जोड्ने कालिन्जोर खोलामा लामो प्रतिक्षापछि पक्की पुल निर्माण भएको हो । खोलामा पुल निर्माण भएपछि चिसापानी र सतभैया क्षेत्रका विद्यार्थीलाई परवानीपुर चोकमा रहेको डिम जनता माध्यमिक विद्यालयसम्म अध्ययनका लागि आउन सहज भएको छ । 

चिसापानीका स्थानीय युवक निरोज वाइवाले पुल निर्माण भएपछि विद्यालय तथा परवानीपुर चोकसम्म सजिलै आवातजावत गर्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । डिम जनता माविबाट कक्षा १२ को परीक्षा दिएर परवानीपुर चोकमा कम्प्युटर सिक्दै गर्नुभएका वाइवाले पुल बनेपछि सबैभन्दा बढी किसान र विद्यार्थीलाई राहत मिलेको बताउनुभयो । 

लालबन्दी १५ र १६ का स्थानीयको कालिन्जोर खोला वारिपारी खेतबारी रहेको छ । खोलामा पुल बनेसँगै खेतीपातीका लागि जुनसुकै बेला ओहोरदोहोर गर्न पाइएको किसानले बताएका छन् । 

कालिन्जोर खोलामा सङ्घीय सरकार र लालबन्दी नगरपालिकाले १४ करोड रुपियाँ बजेट खर्चिएर पक्की पुल निर्माण गरेका हुन् । लालबन्दी १६ का वडाध्यक्ष गणेशबहादुर थापाले अतिआवश्यक रहेको ठाउँमा पक्की पुल निर्माण भएसँगै जनजीवन सहज बनेको जानकारी दिनुभयो । 

वडाध्यक्ष थापाका अनुसार पुल निर्माणको काम पूरा भए पनि निर्माण व्यवसायीबाट हस्तान्तरण हुन र औपचारिक उद्घाटन गर्न बाँकी नै रहेको छ । चुरेवर्ती क्षेत्रमा पर्ने कालिन्जोर खोलामा पुल बनेर आवतजावतमा सहजता भए पनि लालबन्दी नगरपालिका–१५, देउराली गैरी टोल र ईश्वरपुर नगरपालिका–१२, घारिबथान चाकलटोल जोड्ने फूलजोर खोलामा भने पुल नहुँदा बाढी आएको समयमा एक गाउँबाट अर्को गाउँमा आवतजावत बन्दै हुँदै आएको छ । 

फूलजोर खोलामा पुल निर्माण भए घारिबथा–देउराली, परवानीपुर–सतभैया–सेतीभीर हुँदै लालबन्दी ११ हीरापुरसम्म चुरेको फेदी नै फेदी वैकल्पिक सडक बन्ने स्थानीयले बताएका छन् । यो सडकको लालबन्दी नगरपालिका क्षेत्रभित्रको अधिकांश भागमा कालोपत्रे भइसकेको छ । 

मधेश प्रदेश सरकारको एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक अन्तर्गत यो वर्ष यही सडकमा पाँच किलोमिटर बढी कालोपत्रे गर्न टेण्डर लागिसकेको प्रदेश सभा सदस्य बेची लुङ्गेलीले बताउनुभयो ।