बिष्णुप्रसाद पोखरेल
दमक, जेठ २० गते । एकसाताअघिदेखि झापाको विभिन्न ठाँउमा आएको हावाहुरी तथा वर्षाले विद्युतका पोलहरु लडाउने, बङ्ग्याउने र तारहरु लत्रने भएकाे छ । मुख्य सडक तथा अन्य ग्रामिण सडक आसपासका अधिकांश विद्युतका पोलहरु धरापमा परेका छन् ।
कमल गाँउपालिकाका अध्यक्ष हुकुमसिंह राइका अनुसार हावाहुरी र वर्षाका कारण भूईमा तार लत्रेको, पोलहरु लड्ने खतरा भएपछि विद्युत प्राधिकरणलाई यस विषयमा ध्यानकर्षण गराइएको छ ।
मंगलवार पाडाजुङ्गी गौरीगन्ज सडक अन्तर्गत जिम्दार चोकदेखि लखनपुरसम्म करिब ५ सय मिटर दुरीमा रहेका ५ वटा लड्न लागेका विजुलीका पोलहरुलाई सिधा बनाउने काम भएको छ । अन्य विभिन्न सडक र आसपासमा जोखिमयुक्त विद्युत पोलहरु चाँडो सामान्य अवस्थामा फर्काउन पहल भइरहेको राईले जनाउनुभयो ।
कमल गाँउपालिका ६ का वडाध्यक्ष नरेन्द्र भट्टराईका अनुसार आइतवार आएको हावाहुरी र पानीले सबैभन्दा बढी विद्युत पोलहरु र कच्ची घरहरुलाई पारेको छ । रुख लड्दा विद्युत पोलहरुमा पनि धेरै नै असर गरेको छ । क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।
यसैगरी दमक क्षेत्रमा पनि धेरै ठाँउमा विजुलीका पोलहरु जोखिम अवस्थामा रहेको बताइएको छ । दमक नगरपालिकाका निमित्त प्रमुख पुण्यप्रसाद दहालका अनुसार ढलेका र ढल्न लागेका विजुलीका पोलहरुको व्यवस्थापन कार्य धमाधम भइरहेको छ । विद्युत प्राधिकरणसँग समन्वय गरेर यो काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
हावाहुरी र वर्षाका कारण दमकका अधिकांश क्षेत्रमका विजुलीका पोलहरुमा क्षति पुर्याएको थियो ।