• २२ जेठ २०८२, बिहिबार

खस्कँदो पठन संस्कृति

blog

इन्टरनेटको विस्तारले दुर्लभ सामग्रीमा पनि सहज पहुँचको अवस्था सिर्जना गर्‍यो । पुस्तकालयमै गएर निश्चित समयमा अध्ययन गर्नुपर्ने सामग्री आफ्नो अनुकूलतामा संसारको जुनसुकै ठाउँबाट अध्ययन गर्न सकिने वातावरण बन्नु पठन संस्कृति विकासका लागि महत्वपूर्ण कोसेढुङ्गा हो । पछिल्लो समय कोरोना महामारीका कारण सूचना प्रविधिको बढ्दो प्रयोग एवं विकसित भएका सामाजिक सञ्जालका कारण अपेक्षा गरेभन्दा ठिक विपरीत संस्कृतिको निर्माण गरेको देखिन्छ । कृत्रिम बौद्धिकताको विकास र सानो डिभाइस मोबाइलमै संसारका यावत् सूचना प्राप्त गर्न सकिने सुविधाले मानव समाजलाई उत्साही बनाउनुपर्नेमा झनै अल्छी बनाएको अध्ययनले देखाएको छ । यसको प्रत्यक्ष प्रभाव विद्यालय तहमा अध्ययन गर्ने कलिला बालबालिकामा परेको छ । 

कुनै समय बजारमा उपलब्ध भएका नयाँ पुस्तक पढ्न पुस्तकालय धाउने विद्यार्थी अहिले सहज रूपमा उपलब्ध भएका नयाँ र रोचक सामग्रीको अध्ययन गर्नुभन्दा छोटकरीमा त्यसको सारांश बोध गर्ने दिशामा उद्यत भएका छन् । यसमा कृत्रिम बौद्धिकताले त झनै ठुलो परिवर्तन ल्याइदिएको छ । प्राप्त सामग्री अन्य सामग्रीभन्दा के कति कारणले भिन्न छ वा यसका राम्रा र नराम्रा पक्ष के छन् भन्ने बारेसमेत सारांश र आलोचनात्मक टिप्पणी कृत्रिम बौद्धिकताले नै दिने भएकाले जेन्जीका रूपमा चिनिएका विद्यार्थी पुस्तकको सम्पूर्ण सामग्री अध्ययन गर्नुभन्दा सारांशबाटै अवधारणा निर्माण गर्ने अभ्यासमा लागेका छन् । यसले गर्दा पठन संस्कृतिमा ह्रास आएको छ भने साहित्य तथा अन्य रचनाको अध्ययन गर्ने लत लागेका व्यक्तिसमेत सहज उपलब्ध अनलाइन सामग्रीमा अभ्यस्त हुन खोज्दा उनीहरूको पनि गहन अध्ययन गर्ने बानी हराउँदै गएको अध्ययनले देखाएको छ । लेखिएको वा छापिएको सामग्री अध्ययन गर्दा जति गहनतामा पुग्न सकिन्छ स्क्रिनमा भएको सामग्रीबाट व्यक्तिले त्यति गहनतामा पुग्न नसकी सतही सार मात्र भेट्न सक्छ भन्ने अध्येताको अनुभवबाट प्रमाणित भएको छ । 

विद्यार्थीमा पठन संस्कृतिको विकास गर्न विद्यालयले उनीहरूका जिज्ञासा मेटाउने वा पूरा गर्ने होइन उनीहरूमा जिज्ञासा वा भोक जगाउने प्रकृतिका क्रियाकलाप गराउनु आवश्यक हुन्छ । कुनै समय लुकीलुकी उपन्यास पढ्ने विद्यार्थी अहिले मोबाइल वा ल्यापटपको स्क्रिनमा गेम तथा अन्य यस्तै सामाजिक सञ्जालमा अलमलिइरहेको देखिन्छ । पछिल्लो समय त निश्चित पाठ्यपुस्तकमा आधारित भई विद्यालयमा गराइने पठनपाठन र दिइने गृहकार्यसमेत विद्यार्थीले अनलाइनमा उपलब्ध सामग्रीकै आधारमा निर्माण गर्ने गरेका छन् । २०औँ शताब्दीलाई सूचनाको युग भने जस्तै २१ औँ सताब्दीलाई गलत सूचनाको बाढीबाट बचेर सही सूचना पहिचान गर्न सक्षम बन्नुपर्ने समयका रूपमा चिनिन्छ । 

आजको युवापुस्ता सञ्जालमा उपलब्ध भएका सामग्रीबाटै कुनै पनि घटना वा विषयवस्तुप्रति आफ्नो धारणा निर्माण गर्ने समूहका रूपमा परिचित हुन थालेको छ । विद्यालय तहका विद्यार्थी नै कुनै पनि विषयवस्तुको अध्ययनमा एकाध घण्टासमेत एकाग्र हुन नसक्नुले भोलिका दिनमा अध्ययन संस्कृति झनै ह्रास भएर जाने सहजै अनुमान गर्न सकिन्छ ।

नेपालका परिप्रेक्ष्यमा हेर्ने हो भने सहरी मात्र होइन, ग्रामीण क्षेत्रमा समेत इन्टरनेटको पहुँच बढ्दै जाँदा भाषिक विचलन र अध्ययन गर्ने बानीमा परिवर्तन आएको छ । इन्टरनेट र सामाजिक सञ्जालमा प्रयोग हुने कोड वा छोटो भाषा, सन्देश प्रवाह गर्न अङ्ग्रेजीमा लेखिएका सामग्रीको छरितोपन र एक किसिमको आकर्षण पनि नेपाली तथा मातृभाषाप्रतिको आकर्षणलाई न्यून गर्ने माध्यम बनेका छन् । सामान्यतया १२ कक्षासम्म अध्ययन गर्ने विद्यार्थी आफ्नो पाठ्यपुस्तकभन्दा बाहिरको कुनै पनि विषयवस्तुको अध्ययन नगरी आफूलाई अब्बल साबित गर्न तयार हुन्छन् । भाषिक सिप विकासका लागि मात्र होइन, व्यावहारिक र वास्तविक ज्ञान प्राप्त गर्न पनि विभिन्न समयका साहित्यिक र गैरसाहित्यिक कृतिको अध्ययन आवश्यक हुन्छ । यसले विद्यार्थीको चिन्तनको दायरा विस्तार गर्छ । भाषामा दखल कायम गर्न र सामाजिक यथार्थलाई पहिचान गर्न पनि समसामयिक साहित्यिक एवं साहित्येतर सामग्रीको 

अध्ययन अनिवार्य र अपरिहार्य हुन्छ । यसलाई बढावा दिने वातावरण सिर्जना गरिनु पर्छ ।

पछिल्लो समय विद्यालय तहमा अध्ययन गराइने सामग्रीले विद्यार्थीलाई सन्दर्भ सामग्रीप्रति आकर्षित गर्नुको सट्टा दिइएकै सामग्रीमा सीमित भई विषयवस्तु बोध गर्ने दिशातर्फ मात्र प्रेरित गरेको पाइन्छ । विद्यालय तहमा लागु गरिएको नयाँ पाठ्यक्रम धेरै जसो विषयमा समसामयिक देखिए पनि नेपाली विषयमा भने रुढीवादी र सङ्कुचित सोचले ग्रस्त देखिन्छ । व्यक्तिवादी प्रवृत्तिका कारण विद्यार्थीको मनोविज्ञान, रुचि र समाजको आवश्यकतालाई सम्बोधन गर्न सक्ने अवस्थामा रहेको देखिन्न । नेपाली विषय अध्ययन गर्ने विद्यार्थीले पाठ्यपुस्तकमा राखिएका निश्चित व्यक्तिका रचना अध्ययन गरी तत्कालीन समाज बुझ्ने वा विधागत ज्ञान र सिप प्राप्त गर्ने सम्भावना वर्तमान पाठ्यक्रममा देखिँदैन बरु हजुरबाका पालादेखि नै पाठ्यवस्तुका रूपमा राखिएका पाठहरूको कक्षागत क्रम भङ्ग गरी गरिएको प्रस्तुति र समान किसिमका प्रश्नको उत्तर तयार गर्ने घोकन्ते विधिमा विद्यार्थीलाई अलमल्याउने काम गरेको छ । पाठ्यक्रम खुला प्रकृतिको हुनुपथ्र्यो जसले पठन संस्कृतिको विकास गर्न कुनै न कुनै रूपमा सहयोग गथ्र्यो । 

विद्यालय तहमा मूलतः भाषा सिकाउने साथसाथै साहित्यिक विधाका माध्यमबाट समाज संस्कृति र भाषाका बिचमा तालमेल ल्याउने प्रयास गरिनुपथ्र्यो । लगभग आधा शतकअगाडि रचना गरिएका कृतिको अध्ययन गरी विद्यार्थीले न वर्तमान समाज बुझ्न सक्छन् न त भाषाको व्यावहारिक सिप र प्रयोग । मात्र पाठसँग सम्बन्धित विषयवस्तु बोध गरी प्रश्नोत्तर गर्ने सिपमा मात्र केन्द्रित पाठ्यक्रमले न त भाषिक सिप वृद्धि गर्छ न त सिर्जनशीलतालाई नै प्रवर्धन गर्न सक्छ । तोकिएका पाठहरूको भाव, सन्देश र चरित्रचित्रण गर्ने सामान्य सिपका अतिरिक्त ज्ञान, प्रयोग, विश्लेषण, मूल्याङ्कन र सिर्जनाको तहमा पुग्नै नसक्ने अवस्था रहेको छ । पाठ्यवस्तुले संज्ञान विकास गर्ने र घोक्ने प्रवृत्तिलाई मात्र केन्द्रमा राखेको छ । यस अर्थमा पठन संस्कृतिको विकास गर्न विद्यालय तहको पाठ्यक्रम नै प्रतिकूल छ भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।

विद्यार्थीले सिकाइ उपलब्धि हासिल गर्न खुला स्रोतबाट विषयवस्तुको चयन गर्ने र तिनको प्रस्तुतिबाट तार्किक एवं सिर्जनात्मक क्षमतालाई प्रवर्धन गर्ने विकल्प चयन गर्न सक्ने अवस्था वर्तमान पाठ्यक्रममा देखिँदैन । यसैले उनीहरू नयाँ विषयवस्तु वा नयाँ रचनाप्रति आकर्षित हुने वातावरण नै छैन । त्यति मात्र कहाँ हो र, शिक्षण पेसामै संलग्न भएका शिक्षकसमेत दशकौँसम्म पाठ्यपुस्तकका अतिरिक्त कुनै पनि कृतिको अध्ययन नगरीकन बस्ने गरेका छन् । शिक्षकले गर्ने अल्छीका सन्दर्भमा विद्यालय तहको मात्र कुरा नगरी विद्यार्थीलाई अनुसन्धान गराउने प्राध्यापकले बर्सौंदेखि कुनै पनि नयाँ कृतिको अध्ययन नगरेको तथ्य केही समयअगाडि सार्वजनिक भएको थियो । यसले समग्रमा पठन संस्कृति दिनानुदिन दयनीय अवस्थामा पुग्न थालेको सङ्केत गर्छ । विद्यालय तहकै विद्यार्थी र उनीहरूलाई उपलब्ध गराइएका सामग्रीमा दृष्टि लगाउँदा पठन संस्कृतिको बाधक पाठ्यक्रम र विशिष्टीकरण तालिका देखा पर्छ । 

विद्यालय तहका पाठ्यक्रममा आधारित भई निर्माण गरिएका विशिष्टीकरण तालिकाले धेरै विषयको अध्ययन गर्नभन्दा पाठ्यपुस्तकभित्रै रुमलिन र सीमित हुन बाध्य पार्ने काम गरेको छ । सिप परीक्षणका लागि मूल्याङ्कन गरिनुपर्नेमा कुन सिप परीक्षण गर्न प्रश्न निर्माण गरिएको हो भन्नेमा समेत अस्पष्टता सिर्जना गरी प्राविधिक रूपमा एक वाक्य, दुई वाक्य, पाँच÷सात वाक्य वा १५–२० वाक्यमा उत्तर दिने प्रकृतिका प्रश्न सोध्ने गरिएको छ । यसले पनि नयाँ विषयवस्तुको अध्ययन, खोज र प्रस्तुतिभन्दा निश्चित डोरेटोमा सीमित सामग्रीको प्रस्तुतिमा जोड दिनुपर्ने अवस्था रहेको देखिन्छ । 

पाठ्यक्रम विकास केन्द्रबाट विकास गरिएका नेपाली र अङ्ग्रेजी भाषाका पाठ्यक्रमलाई नै दाँजेर हेर्ने हो भने अङ्ग्रेजी विषयको पाठ्यक्रमले केही न केही सिर्जनशीलतालाई जोड दिएको पाइन्छ । खुला प्रकृतिका प्रश्न र पाठ्यवस्तुमा समेत स्वतन्त्रता राखी सिकाइ उपलब्धि र प्रयोगलाई अङ्ग्रेजी पाठ्यक्रममा जोड दिइएको छ भने नेपालीमा निश्चित व्यक्तिका निश्चित रचना पढी परम्परित रूपमै प्रश्नोत्तर गर्ने कुरामा मात्र सीमितता अपनाइएको छ । यसले विद्यालय तहका विद्यार्थीले सामाजिक विषयपछिको अरुचिकर विषयका रूपमा नेपालीलाई लिने गरेका छन् । मातृभाषा र भाषा साहित्य, त्यो पनि अरुचिकर हुने हो भने विद्यार्थीमा सिकाइ र पठन संस्कृतिको विकास कसरी हुन सक्ला ?