चन्द्र पन्दाक
ताप्लेजुङ, पुस १२ गते। ताप्लेजुङमा यसवर्ष खाद्यान्न बाली धानको खेती र उत्पादन घटेको छ। रोपाइँ अर्थात खेती गर्ने समयमा वर्षा नभएकाले यो वर्ष धान खेती तथा उत्पादन घटेको हो।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार यसवर्ष चार हजार ७९७ हेक्टर क्षेत्रफलमा मात्र धान खेती भएको छ। उक्त क्षेत्रफल बराबरको खेतीबाट यो वर्ष कुल १३ हजार ५७५ मेट्रिकटन धान उत्पादन भएको छ। गतवर्ष ताप्लेजुङमा पाँच हजार ५८१ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको र उक्त खेतीबाट १५ हजार ९०६ मेट्रिकटन धान उत्पादन भएको थियो।
गतवर्षको तुलनामा यसवर्ष धान खेती गरिएको क्षेत्रफल ७८४ हेक्टरले घटेको कृषि ज्ञान केन्द्रकी बाली विकास अधिकृत मुना न्यौपानले जानकारी दिनुभयो। बाली विकास अधिकृत न्यौपानेका अनुसार खेती गरिएको क्षेत्रसँगै धान उत्पादन पनि गत वर्षभन्दा दुई हजार ३३१ मेट्रिकटन कमी भएको छ।
धान खेती लगाउने मुख्य मौसम (याम) मा वर्षा नभएका कारण किसानले रोपाइँ गर्न नपाएका कृषि ज्ञान केन्द्रले जनाएको छ। जिल्लाको केही क्षेत्रमा समय बितेपछि किसानले रोपाइँ गरेको भए पनि धान उत्पादन नभएको बताइएको छ। धान खेतीका लागि मौसम प्रतिकुल भएको अर्थात समयमा वर्षा नभएपछि यसवष अधिकांस खेतहरु बाँझो रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।