• २२ वैशाख २०८३, मङ्गलबार

वासिङटनमा गुरुङ समुदायले ल्होछार मनाउँदै

blog

काठमाडौँ, पुस १२ गते। तमु धीं भर्जिनियाले हरेक वर्ष जस्तै यस वर्ष पनि वासिङ्टन डिसी महानगरमा धुमधामले तमु ल्होछार मनाउने भएको छ। 

वासिङटन डिसी क्षेत्र वरपर बस्नुहुने गुरुङको एकदमै सक्रिय र लामो इतिहास बोकेको पवित्र संस्था तमु धीं भर्जिनियाले एकदम भव्य तरिकाले तमु ल्होछार मनाउने धुमधाम तयारी गरेको तमु ल्होछार मूल आयोजक समितिका संयोजक बिन्तीकुमार गुरुङले जानकारी दिनुभयो।

पुस १५ गतेका दिन मनाइने तमु (गुरुङ) जातिको यस विशेष पर्वमा १२ वटा वर्गहरुमध्ये यस वर्ष सर्प वर्ग (स–प्रिल्हो)लाई बिदाइ गर्दै नयाँ वर्ग त ल्हो (घोडा वर्ग) लाई स्वागत गरिने छ।

आफ्नै मौलिक पहिचान सहितको गुरुङ भेषभुषामा सजिएर, मौलिक गीत संगीतमै नाच्दै, गाउँदै, रमाइलो गर्दै, मिठो स्वादिष्ट परिकार खाई एक आपसमा शुभकामना आदनप्रदान गर्दै धुमधामले मनाइने यो राष्ट्रिय पर्व आजभोलि नेपालमा मात्र नभई संसारका कुना कुनामा मनाइछन्।  

तमु ल्होछार कार्यक्रमका लागि समाजका आजीवन सदस्य, सचेतक तथा प्रवक्ता बिन्तीकुमार गुरुङको संयोजकत्वमा ६१ सदस्यीय ल्होछार मूल आयोजक समिति २०२५ गठन गरिएको सचिव थमन गुरुङले जानकारी दिनुभयो।

ल्होछार कार्यक्रमको टिकट दर प्रतिव्यक्ति ४५ डलर तोकिएको छ भने १० वर्ष मूनिका बालबच्चाहरुलाई निःशूल्क प्रवेश रहनेछ। कार्यक्रमको समर्थन र सहयोगको लागि तमु धीं भर्जिनिया परिवारले सबैलाई कार्यक्रममा उपस्थित हुनका लागि अपिल गरेको छ।

४००, सेन्टर स्ट्रेट, भियाना, भर्जिनिया २२१८० मा डिसेम्बर ३० तारिख, मंगलबारका दिन हुने कार्यक्रम बेलुका ५ बजेदेखि मध्यरात १२ बजेसम्म चल्ने समाजका अध्यक्ष नन्दकुमार गुरुङले जानकारी दिनुभयो।