• १ असार २०८२, आइतबार

ताराखोलामा सहिद स्मृति पार्क निर्माण

blog

ताराखोला गाउँपालिका २ अर्गलमा निर्माण गरिएको सहिद तथा बेपत्ता योद्धा स्मृति पार्क । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, जेठ १२ गते । जैविक गाउँपालिकाको परिचय बनाएको जिल्लाको ताराखोलाले सहिद तथा बेपत्ता योद्धा स्मृति पार्क निर्माण गरेको छ । गण्डकी प्रदेश सरकारको ५६ लाख र पालिकाको १८ लाख रुपियाँ गरी ७४ लाख बजेटबाट ताराखोला गाउँपालिका २ अर्गलको दन्थुगयारमा पार्क निर्माण गरिएको हो । 

झण्डै १५ रोपनी क्षेत्रफलमा फैलिएको सहिद पार्कमा ताराखोलाका सहिदहरुको सालिक निर्माण गरिएको छ । देशमा चलेको दश वर्षे जनयुद्धकालमा ताराखोलाका छब्बीस जना मारिएका थिए भने दुई जना अझै बेपत्ता छन् । उनीहरुको अर्धकदको सालिक निर्माण गरेर पार्कमा राखिएको गाउँपालिकाका प्रवक्ता भद्रबहादुर घर्तिले जानकारी दिनुभयो । 

गाउँपालिका पार्कमा पुग्ने पदमार्ग तथा मोटरबाटो निर्माणमा पनि लगानी गरिरहेको छ । गाउँपालिकाले तीन वर्षदेखि सहिद परिवारलाई जीविकोपार्जनका लागि मासिक रुपमा एक हजार रुपियाँ भत्ता दिँदै आएको छ । ‘‘सहिद तथा बेपत्ताको योगदानको कदर गर्दै उहाँहरुको सम्झनामा पार्क निर्माण गरिएको हो,’’ प्रवक्ता घर्तिले भन्नुभयो । पार्कमा थप संरचनाहरु निर्माणको काम चलिरहेको घर्तिले जानकारी दिनुभयो ।

पार्कको उद्घाटन मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानको क्रममा बिहिबार राती ताराखोलामा पुग्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको थियो । सो अवसरमा बोल्दै प्रचण्डले पार्क व्यवस्थित र सहिद मार्गलाई स्तरोन्नतिका लागि बजेट विनियोजनको लागि पहल गर्ने बचन दिनुभएको थियो ।

सशष्त्र द्वन्द्वको बेला माओवादीकै अगुवाईमा श्रमदान गरेर खनिएको काठेखोला गाउँपालिका ४ बिहुँको रिजालचोकदेखि ताराखोला गाउँपालिका वडा नं. १, २ र ४ जोड्ने ४० किलोमिटर सडकलाई सहिद मार्ग नामाकरण गरिएको छ । जनश्रमदानबाट सडकको ट्याक खुलाइएपनि स्तरोन्नतीमा भने ढीलाई भएको हो । यो सडक कालोपत्रका लागि विस्तृत अध्यय प्रतिवेदन (डिपिआर) बनेको ६ वर्ष भैसकेको छ । ठेक्का प्रक्रियामा जान नसक्दा सहिद मार्गमा वर्षौदेखि स्थानीयले जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । 

यो सडकले ताराखोलादेखि म्याग्दी जिल्लाको रुम जोड्छ । २०७५ सालको डिपिआरमा एक अर्ब लागतमा सबै सडक कालोपत्र गर्न सकिने स्टिमेट गरिएको थियो । पहिलो चरणमा बाह्रै महिना सवारी चल्ने बनाउन गाउँपालिकाले पहल गरेको थियो । बहुबर्षे ठेक्काका लागि गण्डकी प्रदेश सरकारमा लागिएकोमा २०७७ मा बजेट र योजना कटौती हुँदा सहिद माग पनि काटिएको थियो । अघिल्लो वर्ष २ करोड र गत वर्ष १ करोड ५१ लाख रुपियाँ खर्चेर बनेको संरचनाबाहेक सहिद मार्गमा अन्य उपलब्ध हुन नसकेको गाउँपालिकाका सहायक प्रशासकीय अधिकृत जितबहादुर सुनारले बताउनुहुन्छ ।