• १२ जेठ २०८२, सोमबार

चौतारो जोगाउन डिपिआर संशोधन

blog

नवलपुरको गैँडाकोट नगरपालिका–२ स्थित भृकुटी चोकमा रहेको चौतारो ।

नवलपुर, जेठ १२ गते । गाउँघरमा कुनै बेला सार्वजनिक स्थलका रूपमा चौतारा, पाटी, पौवा निकै परिचित थिए । पुर्खाले बाटो हिँड्दा थकान मेट्न, गाउँबेँसी गर्दा भारी बिसाउन, गर्मीयाममा आराम गर्न, बटुवाले बास बस्न र पुण्य कमाउन चौतारा निर्माण हुने गरेका थिए । तिनै चौतारामा कचहरी हुन्थे । गाउँघरका मनमुटाव र झैझगडाका मिलाइन्थे । अनि विकास निर्माणका विषयमा छलफल र बहस हुन्थ्यो । 

तर बढ्दो सहरीकरणसँगै गाउँ गाउँमा सडक विस्तार भएपछि नेपालीको मौलिक पहिचान र संस्कृति बोकेका चौतारा र पाटीपौवा लोप हुँदै गएका छन् । पहाडमा समेत चौतारा लोप हुँदै जाँदा तराईमा त झन् निकै कम मात्रामा चौतारा थिए । 

तिनैमध्येको एक हो नवलपुरको गैँडाकोट नगरपालिका–२ को भृकुटी चोकमा रहेको चौतारो । राजा महेन्द्रले पूर्वपश्चिम राजमार्गको शिलान्यास गर्ने क्रममा विसं २०१८ मा स्थानीय डिल्लीराम भुसालको सक्रियतामा बरपिपल रोपेर चौतारो निर्माण गरिएको स्थानीय ६५ वर्षीय हरिप्रसाद सापकोटाले जानकारी दिनुभयो । नारायणगढ–बुटवल सडकखण्ड विस्तार गर्दै जाँदा यो ऐतिहासिक चौतारो हटाउने तयारी थियो तर जनप्रतिनिधि र स्थानीयको पहलमा चौतारो संरक्षण गरिएको छ । चौतारो संरक्षण गर्न सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै संशोधन गरिएको छ । 

यो चौतारो संरक्षण गर्नका लागि आफू छ महिनासम्म विभिन्न स्थानमा धाएको गैँडाकोट–२ का अध्यक्ष प्रकाश सापकोटाले बताउनुभयो । “परम्परागत सम्पदाको संरक्षण गर्नु आवश्यक छ भनेर मैले यो चौतारो जोगाउन जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म धाएँ, चिनियाँ ठेकेदार कम्पनीको अफिसमा गएँ, डिपिआर संशोधन गराउन पहल गरेँ,” वडाध्यक्ष प्रकाश सापकोटाले भन्नुभयो, डिपिआर संशोधन पनि भयो र चौतारो पनि जोगियो ।” 

ऐतिहासिक चौतारो संरक्षण गर्नु आफूहरूको कर्तव्य सम्झेर संरक्षणका लागि पहल गरेको अध्यक्ष सापकोटाले बताउनुभयो । यसमा स्थानीयले पनि साथ दिएको उहाँको भनाइ छ । 

नारायणगढ–बुटबल सडकखण्ड विस्तारको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले स्थानीयको मागलाई सम्बोधन गर्न प्रारम्भिक डिपिआर परिवर्तन गर्दै नयाँ डिजाइन तयार पारेको हो । नयाँ डिपिआरमा चार लेन सडकभन्दा माथि स्थानीय लेन निर्माण गर्दै चौतारो सुरक्षित राखिएको सडक विस्तार आयोजनाका सूचना अधिकारी, इन्जिनियर शिव खनालले बताउनुभयो । 

“स्थानीयको माग र जनप्रतिनिधिको सिफारिसका आधारमा मिलेसम्म चौतारालाई पर्याप्त स्थान छाडिएको छ,” खनालले भन्नुभयो, “कम्पनीले नै हेभी वाल निर्माणमार्फत चौतारोको संरक्षण गर्ने योजना बनाएको छ ।” कम्पनीको निर्णयबाट स्थानीय पनि हर्षित छन् । 

नेपालमा झन्डै पाँच हजार वर्षअघिदेखि मृतकका आफन्तले मृतकको सम्झनामा चौतारा र पाटीपौवा निर्माण गर्न थालेको पाइन्छ । बटुवा आएर भारी बिसाउँदा र आराम गर्दा मृतकको आत्माले शान्ति पाउने र स्मरणसमेत हुने भएकाले चौतारामा बरपिपलका बिरुवा रोप्ने चलनसमेत रहिआएको कथन छ । धर्म र संस्कृतिसँग जोडिएका बरपिपल रोप्ने र चौतारा बनाउने चलन पछिल्लो समय भने मासिँदै गएको छ ।  

   

Author
बोमलाल गिरी

गिरी गोरखापत्रका लागि नवलपुर समाचारदाता हुनुहुन्छ ।