अविनाश चौधरी
धनगढी, जेठ ११ गते । सुदूरपश्चिम प्रदेश सभाको बर्खे अधिवेसन आइतबारदेखि सुरु भएको छ । प्रदेश सभाको बैठकमा विरोध यथावत राखेको प्रतिपक्षी दलहरुसँग समसामयिक प्रस्ताव सदनमा लैजाने सहमतिपछि अधिवेसन सुरु गरिएको हो ।
छैटौं अधिवेसन पहिलो बैठक बस्नु अगाडि मुख्यमन्त्री कमलबहादुर शाहले बोलाएको सर्वदलीय बैठकमा समसायमिक प्रस्ताव सदनमा लैजाने सहमति भएको छ । त्यसका लागि आठ सदस्यीय सर्वपक्षीय समिति गठन गरिएको छ ।
दिनको १ बजे बोलाइएको प्रदेश सभाको बैठक सर्वदलीय सहमतिपछि ढिलो गरेर सुरु भएको थियो । बैठकमा शुभकामना मन्तव्य राख्दै नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले प्रदेश सरकारले प्रतिपक्षीसँग हदैसम्मको लचकता देखाएर प्रदेश सभा सुचारु हुने वातावरण बनाएको बताउनुभयो ।
उहाँले सर्वदलीय बैठकबाट गठित सर्वपक्षीय समितिले समसामयिक प्रस्तावको प्रतिवेदन सोमबारसम्म बुझाउने बताउनुभयो ।
त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता खगराज भट्टले प्रदेश सभाको आधा कार्यकाल बिति सकेकोले के के भयो त्यस विषयमा समीक्षा हुनु पर्ने बताउनुभयो । नागरिकको आशा अभिलाषासंग सदन जोडिएको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो,“सरकारले प्रतिपक्षको आवाज सुन्नु पर्दछ । प्रतिपक्षले उठाएको विषय समयमै सम्बोधन गर्नु पर्छ ।”
नेकपा (एमाले) को संसदीय दलका नेता राजेन्द्रसिंह रावलले गतवर्ष बजेटमा देखिएको समस्याबाट पाठ सिकेर अब बजेट बनाउनु पर्ने बताउनुभयो । सामाजिक विकास, रोजगारी प्रवर्धन, उद्योग स्थापना, कृषि, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यमा आगामी आर्थिक वर्षको बजेट केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ । प्रदेश सरकारले युवा पलायनलाई रोक्नेगरी बजेट ल्याउनु पर्ने रावलको जोड छ ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेशको पहाडी क्षेत्रबाट बसाइँसराइ रोक्नेगरी कृषि उत्पादनको थालनी गर्न आवश्यक रहेको बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाहीले जनताको टाउकोमा ऋण थुपार्न नहुने बताउनुभयो ।