• ११ जेठ २०८२, आइतबार

जुम्ली मार्सीको नयाँ खुसी

blog

खस साम्राज्य (संवत् १२०० देखि १४०० हाराहारी) को केन्द्रीय भूमि जुम्ला समृद्ध थियो । त्यस बखतको सबल साम्राज्यको केन्द्रीय भूमि जुम्लाप्रति ठुलो आकर्षण थियो । खेतीपाती, पशुपालन र व्यापार फैलिँदो थियो । त्यस बखत जुम्ली फाँटमा अरू धेरै खालका बाली फैलिए पनि धानको उत्पादन भने हुन सकेको थिएन । रहरले लगाएको धान पनि सुरुमा मौलाउने तर बाला लाग्ने बेला असोज कात्तिकतिर ठण्डीले भेटिहाल्थ्यो । राम्ररी फल्दैन थियो । पोगटा मात्रै हुन्थ्यो । फागुन चैततिरै बिउ राखेर जेठमै रोपिन्थ्यो । लगभग आठ महिनामा पाक्नुपर्ने धान रहरमै सीमित हुँदा किसान हैरान थिए । त्यस्तै अवस्थामा करिब सात सय वर्षअघि अर्थात् खस साम्राज्यको समयमै बाबा चन्दननाथले काश्मीरबाट नयाँ धानको बिउ ल्याएर किसानलाई दिए । नयाँ धान राम्ररी फल्न थाल्यो । जुम्ला फाँटभरि फैलियो । स्वादिलो र पोसिलो सो चामलको ख्याति टाढासम्म फैलिनु स्वाभाविक थियो । कति पहाडी भेगमा मार्सी खेती पनि फैलियो तर जुम्लाकै जस्तो स्वादिष्ट भने हुन सकेन । समयक्रमसँगै जुम्लाको मार्सीको ख्याति काठमाडौँको सत्ताधारीसम्म नआइपुग्ने कुरै थिएन । राणा प्रधानमन्त्री चन्द्रशमशेर जुम्ली मार्सी चामलको स्वादमै रमाए । टाढाको माम्लो न पर्‍यो, ल्याउन कठिन हुने नै भयो । महाराजको स्वादका निम्ति आदेश पूरा नगर्नु असम्भव थियो । जुक्ति लगाइयो । हुलाकबाट दैनिक दुई माना निरन्तर ल्याएर चन्द्रशमशेरको साँझबिहान भान्सा चलाइयो । सोही गौरवमय मार्सीमा अहिले नयाँ जात विकास भएपछि खुसी झनै छाएको छ ।

शताब्दीऔँसम्म राम्ररी फलेको धानमा दुई दशकयता भने समस्यामा पर्‍यो । रोग किराले सतायो । विश्वकै उचाइ भूभागमा हुने धान मार्सीमा रोग किराका कारण उत्पादन कम हुन थालेपछि चिन्ता बढ्यो । उत्पादनमा ह्रास आयो । कृषि अनुसन्धान केन्द्रका कृषि वैज्ञानिकले रोगव्याधिबिनाको धान उत्पादनका निम्ति लामै अनुसन्धान गरे । सफल भए । मार्सीका विकसित जात उन्मोचन गरियो । इन्हान्स्ड अर्थात् सुदृढ जुम्ली मार्सीका तीन जात विकसित भए । कृषि वैज्ञानिकका अनुसार सुदृढ मार्सी–१८, मार्सी–२० र मार्सी–२२ को रैथाने जुम्ली मार्सीकै नयाँ स्वरूपका धान हुन्  । कृषि अनुसन्धान केन्द्र जुम्लाका प्रमुख वैज्ञानिक डा. नवराज आचार्य नयाँ जातको धान बढी फल्ने र रोग किरासँग लड्न सक्ने छन् । नयाँ विकास गरिएको पुरानो रैथाने मार्सी धानसँग गुण र स्वादमा कुनै प्रकारको फरक र कमी हुने छैन । नयाँ धानको बिउ किसानलाई वितरण गर्न थालिएको छ । झन्डै सात÷आठ वर्षदेखिको अनुसन्धान सफल हुँदा वैज्ञानिक पनि खुसी छन् । ‘मास मार्कर एसिस्टेड सेलेक्सन’ विधिको प्रयोग गरी नयाँ जात विकसित गरिएको हो । नयाँ जातको परीक्षण सफल भएपछि अब किसानले खेतमा लहलहाउने छन् ।

जुम्ली मार्सीको चामलको माग बजारमा उच्च छ । भाउ पनि राम्रो छ । बाबा चन्दननाथले काश्मीरबाट ल्याएको धान जुम्लाको रैथाने खेती भइसकेको थियो र लामो समय बिनारोगव्याध फलिरह्यो । यताका दशकमा रोगव्याधिलागेपछि मासिएला भन्ने त्रासमा थिए किसान । अब नयाँ जातले रैथाने मार्सी धानलाई जोगाइराख्ने विश्वास छ । रोग लाग्न नदिई फैलन सक्ने छ । उत्पादनसमेत झन्डै दोब्बरले बढ्ने हुँदा किसानलाई फाइदा हुने वैज्ञानिकको भनाइ छ । कृषि अनुसन्धान केन्द्र प्रमुख वैज्ञानिकका अनुसार यस वर्ष जुम्ली मार्सी १८ को १० केजी, मार्सी २० को १० केजी र मार्सी २२ को २० केजी बिउ प्रतिकिसानलाई वितरण गरिएको छ । अघिल्लो वर्षदेखि नै बिउका निम्ति उत्पादन विस्तार गरिएको हो । आउँदा वर्षमा यो धानको उत्पादनमा चमत्कार नै आउने देखिएको छ । यसमा अनुभव प्राप्त किसानको भनाइ सुन्दा खुसी हुने ठाउँ धेरै छ । गुठीचौर गाउँपालिका–५ का किसान पनिमल सार्कीले गत वर्ष नयाँ मार्सीको एक केजी बिउबाट ४९ केजी धान उत्पादन गर्न सकेको सगौरव जानकारी दिनुभयो । नयाँ धानको बिउ केही वर्षमै व्यापक फैलाने विश्वास छ । जुम्लामा गत आर्थिक वर्ष २०८ हेक्टरमा धान उत्पादन भएको थियो । नयाँ बिउकै कारण अब धानको उत्पादन गुणस्तर बढ्ने विश्वास छ । नयाँ धानको खेती जुम्लासँगै नेपालको उच्च पहाडी भूभागमा विस्तार गर्न सकिने सम्भावना देखिन्छ ।