कोकिला ढकाल
इलाम, जेठ १० गते । बर्सेनि बढ्दो जलवायु असरबारे नेपालका हरेक घरपरिवारले थाहा पाउनुपर्ने शुक्रबार इलाममा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको ‘क्लाइमेट चेन्ज फोरम–२०२५’ कार्यक्रमका सहभागीले जलवायु परिवर्तन गर्न नेपालको भूमिका कम रहे पनि सम्पूर्ण नेपालीले यो विषयमा जानकारी नै नपाएको बताएका हुन् । नास्टका उपकुलपति डाक्टर दिलीप सुब्बाले जलवायु परिवर्तन सुधारमा मुख्य योगदान दिने नेपालको कृषि क्षेत्र भए पनि सबै किसानले यो विषयमा जानकारी नपाएका बताउनुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै इलामस्थित सामुदायिक कृषि क्याम्पसका प्रमुख डाक्टर योगेन्द्रमान श्रेष्ठले जलवायु परिवर्तन के हो भनेर अहिले स्थानीय तहलाई समेत बुझाउन नसकेको बताउनुभयो । डाक्टर श्रेष्ठले भन्नुभयो, “जलवायु परिवर्तन र त्यसको असर के हो भनेर स्थानीय सरकारहरूले बुझेका छैनन् । यसलाई आफ्ना कार्यक्रममा प्राथमिकतामा पनि राख्दैनन् । ठाउँ र स्थान अनुसार जलवायु परिवर्तनको असर फरक फरक छ । यो विषय बुझ्न विज्ञ तहमा पनि धेरै ग्याप छ ।”
डाक्टर श्रेष्ठले जलवायु परिवर्तन संवेदनशील विषय भएकाले यसले मानव जीवनमा कति असर पार्छ भन्ने विषय अब हरेक नागरिकलाई बुझाउन सक्नुपर्ने बताउनुभयो । कार्यक्रममा नास्टका डाक्टर मदनलाल श्रेष्ठले नास्टले हरेक अध्ययनमा विविध स्थानको अध्ययन गरेको तर २० वर्षपछि त्यो स्थान नचिनिने अवस्थामा पुगेको पाइएको बताउनुभयो ।
डाक्टर श्रेष्ठले भन्नुभयो, “च्छो रोल्पा ताल कुनै पनि बेला फुट्न सक्छ । सबै हिमाल पग्लने क्रम बर्सेनि बढ्दै छ । हरेक अध्ययनमा यो पाइन्छ । जलवायु परिवर्तनबारे धेरै अध्ययन नेपालमै भएका छन् । नसोचेको परिवर्तन र असर नेपालले बेहोर्नु परिरहेको छ ।”
कार्यक्रममा नर्सरी अनुसन्धान केन्द्र इलामका डम्बर कार्कीले हरेक बिरुवाको अध्ययन गर्दा तापक्रमले असर गरिरहेको जानकारी दिनुभयो । कार्कीले भन्नुभयो, “बढ्दो तापक्रमका कारण नयाँ रोग आउने, नयाँ नयाँ किरा लाग्ने र बिरुवाको वृद्धि विकासमा बिउ नै मासिने गरी असर गरेको अवस्था छ ।” कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईले तीन तहको सरकार भए पनि जवलायु परिवर्तनमा ध्यान नगएको हुन सक्ने बताउनुभयो । हरेक व्यक्तिको चेतना, व्यवहारमा परिवर्तन गर्न आवश्यक रहेको राईको भनाइ छ ।