अनिल पराजुली
हेटौँडा, असार १ गते। बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट साँझ घोषणा हुने छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रदेश सभाको बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्नु हुने छ।
आइतबार साँझ ६ बजेर ३० मिनेटका लागि प्रदेश सभामा बजेट प्रस्तुत गर्ने गरी तयारी गरिएको बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो। यसअघि दिउँसो तिन बजेका लागि बजेट प्रस्तुत गर्ने तयारी गरिएको थियो। विशेष कारणवश बैठक केही समयका लागि सारिएको सभामुख पाठकको भनाइ छ। साँझ ५ बजे मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेपछि प्रदेश सभा बैठकमा प्रस्तुत हुने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
चालू आवमा ६४ अर्ब ५४ करोड रुपियाँको बजेट ल्याएको थियो। आगामी आर्थिक वर्षमा ६८ अर्ब हाराहरीको बजेट ल्याउने सरकारको तयारी छ।
आर्थिक मामिला तथा योजनामन्त्री काफ्लेले बजेटको सिलिङ ५५ अर्बको भए पनि महत्त्वपूर्ण योजना कार्यान्वयन र प्रभावकारी बजेट व्यवस्थापनका लागि आकार बढ्ने सङ्केत गर्नुभएको छ । बजेटले नागरिकमैत्री कर नीति ल्याउने, करको क्षेत्र विस्तार गर्ने र कर सङ्कलनलाई प्रभावकारी बनाउने रणनीति अपनाइने उहाँले जानकारी दिनुभयो।
प्रदेशमा खर्चको तुलनामा आम्दानी न्यून भइरहेको अवस्थामा प्रदेशको राजस्व वृद्धि गर्न राजस्व सुधार अध्ययन समिति मार्फत सुझाव लिइएको थियो। अध्ययनले प्रदेशको अधिकार क्षेत्रभित्रका राजस्वका स्रोत, सङ्कलनको अवस्था, सङ्कलनमा रहेका सम्भावना र सवाल लगायतका विषयको विश्लेषण गरी राजस्व परिचालनमा सुधार एवम् नयाँ क्षेत्र पहिचान र विस्तार सहित प्रदेशको राजस्व वृद्धिमा योगदान गर्ने अपेक्षा गरिएको छ।