काठमाडौँ, असार १ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १५औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेता खेलाडी र अफिसियलसहित टोलीलाई स्वागत गरेको छ ।
राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईलगायतले टोलीलाई आइतबार त्रिपुरेश्वरस्थित राखेपमा स्वागत गर्नुभयो ।
भुटानको थिम्पूमा जेठ ३० देखि ३१ गतेसम्म भएको प्रतियोगितामा नेपालले एक स्वर्ण र तीन रजत पदक जितेको थियो । नेपालबाट तीन पुरुष र दुई महिला गरी पाँच खेलाडीले सहभागिता जनाएका थिए ।
महिला एथलेटिक फिजिकमा उर्मिला श्रेष्ठले नेपाललाई स्वर्णपदक दिलाउनुभयो । सोही स्पर्धामा शीला ठकुरीले रजत पदक जित्नुभयो ।
पुरुष ५५ केजी तौलसमूहमा शरद सुवालले रजत तथा पुरुष स्पोर्ट्स फिजिक एक सय ७५ सेन्टीमिटर मुनी अवतार श्रेष्ठले रजत पदक जित्नुभयो । पुरुष स्पोर्ट्स फिजिक एक सय ७५ सेन्टीमिटर माथि प्रनिश श्रेष्ठ पाँचौं स्थानमा रहनुभयो ।
स्वागत कार्यक्रममा सदस्य सचिव घिसिङले शारीरिक सुगठनले राष्ट्रलाई चिनाउने क्रममा थ्रुपै अन्तर्राष्ट्रिय पदक जितिसकेको बताउँदै पदक जितेर सारा नेपालीलाई खुशी बनाएकोमा खेलाडीलाई बधाइ दिनुभयो ।
शारीरिक सुगठन महासङ्घका प्रथम उपाध्यक्ष विजयलाल कायस्थले हरेक अन्तर्राष्ट्रिय प्रतियोगतामा शारीरिक सुगठनले राष्ट्रलाई पदक दिलाउँदै आएको स्मरण गराउनुभयो ।
अफिसियलका एवं शारीरिक सुगठनका सचिव दिनेशकुमार राजभण्डारीले सन् २०२७ मा नेपालमा विश्व शारीरिक सुगठन च्याम्पियनसिप आयोजना बारे भुटानमा छलफल भएको जानकारी गराउनुभयो ।
व्यवस्थापकमा सुरेश सुवेदी, प्रशिक्षकमा रुजेश शाही, निर्णायकमा दीपेन्द्रकुमार प्याकुरेल तथा सहयोगीमा रमेश श्रेष्ठ र बालमुकुन्द अवाल भुटान जानुभएको थियो ।