माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), असार १ गते । पोखरामा सम्पन्न प्रचण्ड कप राष्ट्रिय महिला भलिबलको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।
पोखरा रङ्गशालाको कभर्डहलमा भएको फाइनल खेलमा एपिएफले विभागीय प्रतिस्पर्धी नेपाल पुसिल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेर उपाधि जितेको हो । एपिएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को सोझो सेटमा हरायो ।
यस्तै एभरेस्ट क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्ड तेस्रो भयो । न्यु डायमण्डले एभरेस्ट क्लबलाई २५–८, २५–१९ र २५–११ को सोझो सेटमा हराएको हो ।
उपाधिसँगै एपिएएफले ६ लाख रुपियाँ, उपविजेता पुलिसले तीन लाख र तेस्रो भएको न्यु डायमन्डले एक लाख रुपियाँ पुरस्कार पायो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा एपिएफकी निरुता ठगुन्ना घोषित हुनुभयो । त्यसैगरी उत्कृष्ट सेटरमा एपिएफकी जसना महतो, उत्कृष्ट स्पाइकरमा पुलिसकी उषा भण्डारी, उत्कृष्ट सर्भरमा एपिएफकी सृष्टि खड्गी, उत्कृष्ट ब्लकरमा न्यु डाइमन्डकी सुमित्रा रेग्मी, उत्कृष्ट लिब्रोमा न्यु डायमन्डकी सलिना श्रेष्ठ र उत्कृष्ट प्रशिक्षकमा भने एपिएफका पुष्पजंग मल्ल घोषित हुनुभयो ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार र अन्य विधाका उत्कृष्टलाई जनही २० हजार रुपियाँ पुरस्कार प्रदान गरियो । नेसनल स्पोर्टस एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा ६ टिम सहभागी भएका थिए ।